लक्ष्यभन्दा ३ महिनाअघि नै आयोजना निर्माण

लक्ष्यभन्दा ३ महिनाअघि नै आयोजना निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण गर्न सञ्चालित आयोजना लक्ष्यअघि नै सम्पन्न भएको छ। 

उपभोक्ताको जागरुकता, इच्छाशक्ति र सम्बद्ध निकायको सहजीकरण भएमा विकास आयोजनामा भइरहेको ढिलासुस्ती हटाउन सकिने गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी जाने बाटो निर्माण योजनाले सन्देश प्रवाह गरेको हो। 

२०८१ जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत पुष २५ गते सम्झौता भएको थियो। उपभोक्ता समितिको सक्रियताका कारण लक्ष्यभन्दा ३ महिनाअघि नै योजना निर्माण सकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए। ‘चालु आर्थिक वर्षमा सञ्चालित मध्य गलेश्वरको सडक आयोजना सम्पन्न हुनेमा पहिलो बनेको छ,’ उनले भने ‘निर्माण सकिएका अन्य ६ वटा आयोजनाको मूल्यांकन र भुक्तानीको चरणमा छन्।’

गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग)सहितको अपांगमैत्री पक्की सडक निर्माण भएको हो। सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनहरूलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष बमबहादुर पुनले बताए। 

बेनी नगरपालिका –९ र १० नम्बर वडाका बासिन्दाको शव दाहसंस्कार गर्न यही बाटो भएर कालीगण्डकीमा लैजाने गरिन्छ। ५ मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरेको उनले बताए। ‘सडकको डिलतर्फ रेलिङ र स्लेट ढुंगा बिछ्याएर पैदलमार्ग बनाइएको छ,’ उनले भने ‘साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई भित्ता काट्ने, पर्खाल बनाएर फराकिलो र ग्रेड मिलाइएको छ।’

सडक बनेपछि गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ। गलेश्वर मन्दिरदेखि राममन्दिर जोड्ने झोलुंगे पुल नजिकै सडक पुगेको हो। झोलुंगे पुलदेखि कालीगण्डकी नदीको किनारसम्म पुग्ने करिब ७० मिटर ढलान गरेको पैदलमार्ग गलेश्वर जेष्ठ नागरिक आश्रममा बस्ने हिदीका बमबहादुर शेरपुञ्जाले व्यक्तिगत लगानीमा बनाएका छन्। 

४२ लाख ६७ हजार २३९ को लागतमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिका समितिका सचिव राम बहादुर बानियाले बताए। ‘योजनाका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ४० लाख बजेट विनियोजन भएको थियो,’ उनले भने ‘उपभोक्ताको तर्फबाट ४ लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ।’

नवनिर्मित सडकको शनिबार गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले उद्घाटन गरे। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.