दुःखद संयोग

दुःखद संयोग
फाइल तस्बिर।
सुन्नुहोस्

राजविराज : जीवन अस्थायी रहेछ, स्थायी भनेको मृत्यु मात्र रहेछ। जीवनमा संयोगहरू सुखद र दुःखद दुवै हुने रहेछ। सांसद बन्ने ३० वर्षदेखिको धोखो पूरा भएको एक वर्ष नपुग्दै आइतबार मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ। 

काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा मञ्जुको हृदयाघातबाट निधन भएको जसपा संसदीय दलका उपनेता तथा मन्त्री नवलकिशोर साह सुढीले जानकारी दिए। काठमाडौंको काकत्यानी चोकस्थित घरमा अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। 

सांसद बन्नका लागि अन्सारीले २०४९ सालमा उम्मेदवार बन्ने प्रयास गरिन्, २०५६ सालको आमनिर्वाचनमा सद्भावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ को टिकट पाएर प्रतिस्पर्धा गरिन्। ऐतिहासिक जनआन्दोलनको सफलतापछि २०६४, २०७० र २०७४ मा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा नाम परे पनि सांसद बन्न पाइनन्। चौथोपटक समानुपातिकको बन्द सूचीमा मुस्लिम कलस्टरको दोस्रो नम्बरमा परेकाले झापाकी सहनाज रहमान सांसद बन्दा उनी सांसद बन्न पाइनन्। त्यसो त सहनाजभन्दा अघि नै सांसद बन्न उनले सबैजसो प्रयास गरिरहिन्। जसपाले पेस गरेको बन्द सूचीको क्रमसंख्या ५२ मा सहनाज रहमानको नाम र ५३ मा मञ्जुको नाम समावेश थियो।

पार्टीको वरीयताका आधारमा सहनाजको भन्दा आफ्नो नाम अघिल्लो क्रममा कायम गरी पाउँ भनी अन्सारीले ०७९ असोज ३० गते निर्वाचन आयोगमा दाबी विरोधको उजुरी नै दर्ता गराएकी थिइन्। समानुपातिक कोटाबाट सांसद चुनिएकी सहनाजको २०७९ फागुन १३ गते निधन भएपछि मात्र उनले सांसद बन्न पाइन्। सोही रिक्त ठाउँमा अन्सारी सांसद बनिन्। 

सहनाज र अन्सारीबीच सांसद बन्न होडबाजी चलेको थियो। दुःखद संयोग एक वर्षको अन्तरालमा दुवै सांसदको मृत्यु हृदयघातबाट भयो। यसरी सहनाजको मृत्यु भएपछि रिक्त पदमा सांसद बनेकी अन्सारीको पनि उस्तै प्रकृतिबाट निधन भयो। 

सांसद चुनिएको चैत ६ गते एक वर्ष पुग्दै थियो। सांसद चुनिएको १३ दिनपछि ०७९ चैत १९ गते उनले सांसद पदको शपथ खाएकी थिइन्। हक्की स्वभावकी अन्सारीले प्रतिनिधिसभामा महिला सुरक्षा, यौनिक तथा लंैगिक अल्पसंख्यक, नागरिकता, भुटानी शरणार्थी, चुरे दोहनको समस्या, स्यानिटरी प्याडमा कर छुट, सरकारी विद्यालयमा पढ्न सरकारी कर्मचारीका सन्तानलाई बाध्यकारी बनाउनुपर्ने, अनुमति लिएर गाँजा खेती गर्न दिनुपर्ने, सांसदलाई दिइने ५ करोड रुपैयाँ एकमुष्ट पारेर उद्योग खोल्नुपर्नेलगायतका माग जोडदारले उठाउँदै आएकी थिइन्।

२०२० साल माघ १९ गते जन्मिएकी मञ्जु शर्माको बाल्यकालमै विवाह भएको थियो। विवाहिता भए पनि उनी राजविराज नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च अनिस अन्सारीको प्रेममा परिन्। २०३९ सालमा राजविराजका प्रधानपञ्च चुनिएका अनिसकी कान्छी श्रीमती मञ्जुको तीन छोरी छन्।

सद्भावना पार्टीका संस्थापकसमेत रहेका अनिस राजविराजबाट सांसद र श्रम राज्यमन्त्रीसमेत बनेका थिए। शर्माबाट अन्सारी बनेकी मञ्जु पनि २०४७ मा तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति आरम्भ गरेकी थिइन्। उनी सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसमेत भइन्। 

सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको २०५८ माघ १० गते निधन भएपछि पार्टी विभाजन भयो। त्यसपछि उनी पार्टी छाडेर तत्कालीन अवस्थामा गैरसरकारी संस्थाका रुपमा रहेको मधेसी जनअधिकार फोरममा आबद्ध भइन्।

यादव नेतृत्वको फोरम पटकपटक विभाजन र एकीकरण भइरह्यो। तर, उनले उपेन्द्र यादवको साथ कहिल्यै छाडिनन्। संघीयताको पक्षमा भएको मधेस आन्दोलनमा पनि उनको सक्रिय सहभागिता रह्यो। मधेसी जनअधिकार फोरमको उपत्यका इन्चार्ज भएर १० वर्षसम्म काम गरिन्।

राजविराज नगरपालिका–४ निवासी अनिस अन्सारीसँग सम्बन्ध बिग्रिएपछि काठमाडौंमा होस्टल चलाएर बसेकी मञ्जुले राजनीतिक व्यस्तताकै कारण सो व्यवसाय पनि छाडेकी थिइन्। होस्टल छाडेदेखि उनी पूर्णरूपमा राजनीतिमा सक्रिय भइन्। पारिवारिक किचलोले उनले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास पनि गरेकी थिइन्। पछिल्लो समय उनी जसपाको राजनीतिक समितिको सदस्यका साथै महिला विभाग र संगठन विभागको सदस्य थिइन्।

दुई दिनअघि मात्र फेसबुकमा उनले अंग्रेजीमा एक पोस्ट गरेकी थिइन्। जसको भावार्थ हुन्छ, ‘अल्लाहले जहिले पनि जुनसुकै बेला, जहाँ पनि तपाईंलाई हेर्दै हुनुहुन्छ।’

किशोरावस्थादेखि नै लिएको सांसद बन्ने धोको पूरा भएको एक वर्षमै मञ्जुको मृत्यु भयो। त्यो पनि जसरी स्थान रिक्त भएर उनी सांसद बनेकी थिइन्, उनले पनि त्यसैगरी स्थान रिक्त गरेर गइन्। जीवनको सबैभन्दा नजिक भएर पनि आफैले अनुभव गर्न नपाइने मृत्युको संयोगले अरूलाई भने अनौठो अनुभव र शिक्षा दिएर गइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.