सुनवलका खोला ठेक्कामा जनप्रतिनिधिहरूबीच सधैं विवाद

सुनवलका खोला ठेक्कामा जनप्रतिनिधिहरूबीच सधैं विवाद
सुन्नुहोस्

परासी : खोला ठेक्काको विषयलाई लिएर नवलपरासी सुनवल नगरपालिकाका जनप्रतिनिधिहरूबीच सधैं विवाद हुँदै आएको छ। नगर क्षेत्रका खोलाहरूमा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा)लाई ठेक्का आह्वानमार्फत प्रतिस्पर्धा गरेर दिने वा प्रतिस्पर्धा बिनै सिधै बिक्री गर्ने भन्ने विषयमा जनप्रतिनिधिहरूबीच विवाद हुँदै आएको हो। 

उक्त विषयमा मेयर विमला अर्यालसहितका केही जनप्रतिनिधि र उपमेयर सूर्य दुबेसहितका केही जनप्रतिनिधिहरूबीच विवाद हुँदै आएको हो। गतवर्ष पनि सोही विषयमा जनप्रतिनिधिहरूबबीच विवाद भएको थियो। विवादका बाबजुद मेयर अर्यालले सिधै चाइनिज कम्पनीलाई नदीजन्य पदार्थ दिने निर्णय गरेर बिक्री गर्न दिएकी थिइन्। अहिले पनि सोही कम्पनीसहित दुई वटालाई बिक्री गर्ने निर्णय गरेपछि जनप्रतिनिधिहरूबीच विवाद चुलिएको हो। 

यसवर्षको चालु आवमा नगरपालिकाले  चारवटा खोलाको नदीजन्य पदार्थ व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ। जसमा ३ वटा खोला सिधैं कम्पनीलाई अमानतमा दिने र एउटा खोलाको मात्र ठेक्कामार्फत प्रतिस्पर्धा गर्नका लागि नगरपालिकाले सूचना निकालेको छ। 

नदीजन्य पदार्थको व्यवस्थापनका लागि बसेको कार्यपालिकाको बैठकमा सिधै बिक्री(अमानत)मा दिने विषयको प्रस्तावलाई केही जनप्रतिनिधिहरूले अस्वीकार गर्दै प्रतिस्पर्धामा लैजान सुझाव दिएका थिए। तर मेयर अर्यालले उक्त सुझावविपरीत तीन वटा खोला कम्पनीलाई सिधै बिक्री गरेर दिने अडान लिएपछि उक्त विषयमा असहमति जनाउँदै उपमेयर दुबेसहित वडा नम्बर २, ७ र १२ का अध्यक्षहरू बैठकबाट बाहिरिएका थिए। 

असन्तुष्ट जनप्रतिनिधिहरूले बैठक पुस्तिकामा हस्ताक्षर नगरी सभाहलबाट बाहिरिएको बताइएको छ। अमानतमा दिंदा तोकिएको मूल्य मात्र पाइने र प्रतिस्पर्धा गर्दा मूल्य बढाबढ हुँदा नगरपालिकाको राजश्वमा वृद्धि हुने भन्दै उनीहरूले ठेक्का लगाउन माग गरेका थिए। विवादका बिच नगरपालिकाले तुरिया, विचासय, भूमही र पानभार खोलाको नदीजन्य पदार्थको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। 

जसमध्ये पानभार खोला मात्र प्रतिस्पर्धामार्फत ठेक्का दिन सूचना निकालिएको छ। अन्य तीन खोलाको नदीजन्य पदार्थ बिक्री गर्न लागिएको छ। जसमध्ये तुरिया र विचासय खोलाको नदीजन्य पदार्थ नारायणगढ–बुटवल सडक खण्ड विस्तार गरिरहेको चिनियाँ कम्पनी (चाइना स्टेट कन्स्ट्रक्सन) र भूमहीको नदीजन्य पदार्थ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा दिने कार्यपालिकाको निर्णयअनुसार बिक्री गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए। अमानतमा दिइएका नदीजन्य पदार्थ गतवर्षको मूल्यभन्दा १० प्रतिशत वृद्धि गरी कायम गरिएको उनले बताए। गतवर्ष प्रतिघनफिट १४ रुपैयाँ ७० पैसामा बिक्री गरिएको थियो।

यसवर्ष भुइटबाहेक १७ रुपैयाँ ६४ पैसामा अमानतमा दिन लागिएको गिरीले जानकारी दिए। चाइना कम्पनीलाई दुई वटा खोलाको कुल २६ लाख ६ हजार ७५५ घनफिट नदीजन्य पदार्थ बिक्री गर्न लागिएको हो। यसबाट कुल चार करोड ५९ लाख ८२ हजार ३ सय आम्दानी हुने छ। त्यस्तै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई भूमही खोलाको १२ लाख ३६ हजार १५ घनफिट नदीजन्य पदार्थ बिक्री लागिएको छ। यसबाट कुल २ करोड १८ लाख ३ हजार आम्दानी हुने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए। पानभारको भने ठेक्का आव्हान भएको छ। १६ लाख ४२ हजार १३४ घनफिटका लागि ठेक्का आव्हान गरिएको पानभार खोला ठेक्कामा गए २ करोड ८९ लाख ६७ हजार आम्दानी हुने  नगरपालिकाले जनाएको छ। 

विवादबारे उपमेयर दुबेले आफू बैठकका लागि सभाहलमा पुगे पनि नदीजन्य पदार्थ प्रतिस्पर्धा नगरी सिधै बिक्री गर्ने प्रस्ताव आएपछि असहमति जनाउँदै बैठक पुस्तिकामा हस्ताक्षर नगरी हिँडेको बताए। आफूसहित अन्य तीन जना वडाअध्यक्षहरू पनि बैठकबाट बाहिरिएको उनले बताए। ‘नदीजन्य पदार्थका विषयमा धेरै नबोलौं, मेयर साहेबलाई नै थाहा होला, उतैबाट जानकारी लिँदा प्रष्ट होला’, उपमेयर दुबेले भने। 

यता मेयर अर्यालले भने राष्ट्रिय गौरवका आयोजनालाई सिधै दिन पाउने प्रावधानअनुसार नदीजन्य पदार्थ अमानतमा दिइएको बताइन्। जनप्रतिनिधिहरूबीच खोलाका विषयमा देखिएको विवादबारे मेयर अर्यालले भनिन्, ‘उपमेयर साहेबलाई नगरपालिकाको राजश्व संकलनको विषय आउने बित्तिकै टाउको दुख्छ। गतवर्ष पनि यस्तै गर्नुभयो। केही बुझ्न सकिएन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.