सत्ता गठबन्धनले सार्वजनिक गर्यो न्यूनतम साझा कार्यक्रम
काठमाडौं : सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। नेकपा एमाले नेतृत्वको ५ दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गरी सार्वजनिक गरेका हुन्। नयाँ गठबन्धनमा नेकपा एमाले,माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी रहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार आयोजित एक समारोहमा मस्यौदा समितिका संयोजक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनबाट पारित भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।
फागुन २१ गते सत्ता साझेदर दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल,नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी छन् ।
सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले गत फागुन २१ गते मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।