लागुऔषध कारोबार गर्ने तीनजना पक्राउ
गोरखा : लागुऔषध कारोबारीलाई शून्य पार्ने अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले तीनजना कारोबारीलाई पक्राउ गरेको छ। आँबुखैरेनीको बाटो प्रयोग गरेर लागुऔषध ओसारपसार पूर्णरुपमा बन्द गर्ने अभियानमा लागेको प्रहरीले सवारी साधन चेकजाँच गर्दा आइतबार तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्दा आँबुखैरेनी गाउँपालिका-४ स्थित पृथ्वी राजमार्ग सडकखण्डबाट उनीहरूलाई पक्राउ गरिएको इप्रका आँबुखैरेनीका इञ्चार्ज इन्स्पेक्टर शिव थापाले जानकारी दिए।
आइतबारको चेकजाँचमा मालिका गाउँपालिका वडा न. १ म्याग्दी घर भई पोखरा महानगरपालिका १४ बस्ने २३ वर्षका एबिन पुनसहित अन्य दुई जनालाई पक्राउ गरिएको थापाले जानकारी दिए। उनीहरूको साथमा लुकाइछिपाइ ल्याएको डाइजेपाम(दुई मिलिलिटर) को २० एम्पुल, फेनार्गन(दुई मिलिलिटर)को २० एम्पुल र बुप्रेनोर्फिन(दुई मिलिलिटर)को २० एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध बरामद गरिएको छ।
त्यस्तै निट्राभेट १० लेखिएको १०५० ट्याब्लेट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले जानकारी दिए।