निसीखोला दुर्घटनाका घाइते भन्छन् : तीव्र गतिले बस अनियन्त्रित भयो

निसीखोला दुर्घटनाका घाइते भन्छन् : तीव्र गतिले बस अनियन्त्रित भयो
सुन्नुहोस्

बागलुङ : बसको तीव्र गतिको कारण घुम्तीमा अनियन्त्रित हुँदा सोमबार निसीखोला गाउँपालिकामा बस दुर्घटना भएको घाइते यात्रुहरुले बताएका छन्। पश्चिम र पूर्व रुकुममा यात्रु चढ्दा लागेको समयलाई परिपूर्ति गर्न चालकले बसलाई बागलुङ लागेपछि तीव्र गतिमा चलाउँदा दुर्घटना हुन पुगेको घाइते रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपालीले बताए। 

पसलको लागि सामान किन्न र आफ्नो स्वास्थ्य परीक्षणको लागि काठमाडौं हिंडेका नेपाली सोमबार बिहान साढे ११ बजे पश्चिम रुकुममा बसमा चढेको बताए। उनले यात्रु र सामान राख्दा दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस केही ढिला छुटेको र बीचबीचमा यात्रु राख्दा निसीखोला आइपुग्दा साढे ५ बजेको बताए। ‘बीचमा यात्रु राख्दा बस निर्धारित समयभन्दा केही ढिला भएको थियो,’ धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते नेपालीले भने,‘बागलुङ प्रवेश गरेपछि बसको गति बढेको थियो। बस लगभग ५०, ६० को गतिमा कुदेको जस्तो लाग्थ्यो। यात्रु र सामान राख्ने समयलाई यता पूरा गर्नको लागि चालकले बसलाई तीव्र गतिमा चलाएको जस्तो लाग्थ्यो। तीव्र गतिकै कारण बस दुर्घटनामा पर्यो।’

null

घाइते दशरथ नेपाली।

घाइते नेपालीले रुकुम र बागलुङको सिमाना पाती हाल्नेबाट तल लागेपछि सडक ओरालो र घुमाउरो रहेको भन्दै सवारी चालकलाई यात्रुहरुले सुस्त चलाउन आग्रह गरेको बताए। ‘पाती हाल्नेदेखि तल लागेपछि सडक ओरालो र घुमाउरो छ,’ उनले भने,‘सुस्त चलाउन चालकलाई आग्रह गरे पनि अटेर गर्दै अघि बढेका थिए। तीव्र गतिमा रहेको बसले घुम्ती मोड्न नसक्दा दुर्घटना भयो।’

घाइते नेपालीको नाक, मुख, टाउको र हातमा चोट लागेको छ। उनको उपचारपछि मंगलबार बागलुङको धौलागिरी अस्पतालले डिस्चार्ज गरेको छ। नेपालीले बस सडकबाट खसेपछि केही समय अचेत अवस्थामा पुगेको बताए। ‘बस सडकबाट खसेपछि केही थाहा पाइनँ। केही समय अचेत अवस्थामा पुगेको थिएँ,’ उनले भने,‘होस् आउँदा वरिपरि घाइते र रुखले च्यापिएका यात्रु मात्रै थिए। एकैछिन हातै चलेन। जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका ४, ५ जना घाइतेलाई निकालेले बाहिर राखे।’ दुर्घटना भएको आधा घण्टामा स्थानीय र १ घण्टापछि प्रहरी उद्धारको लागि घटनास्थल पुगेर उद्धार गरेको नेपालीको भनाइ छ। 

‘दुई चार जना सामान्य घाइते भएका यात्रुहरु मिलेर रुखले च्यापेका घाइतेहरुलाई बाहिर निकालेका थियौं,’ उनले भने,‘दुर्घटना भएको आधा घण्टामा स्थानीय र केही समयपछि प्रहरी आएर उद्धार गरे। दुर्घटना हुँदाहुँदै उद्धार भएको भए ठूलो क्षति हुने थिएन होला।’

नेपालीसँगै धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका सुर्खेतका लक्ष्मण बोगटीले पनि चालकको लापरबाहीले दुर्घटना भएको बताए। आफूले काम गर्ने कार्यालयमा काम परेपछि काठमाडौं हिंडेका बोगटीले बस तीव्र गतिमा हुँदा घुम्ती काट्न नसकेपछि अनियन्त्रित भएर दुर्घटना भएको बताए। 

उनले बसभन्दा अगाडि रहेको स्कर्पियोलाई भेट्नको लागि चालकले बसलाई तीव्र गतिमा चलाएको हुन सक्ने बताए। ‘१ मिनेट अगाडि स्कर्पियोले बसलाई ओभरट्याक गरेर गएको थियो,’ बोगटीले भने,‘बसको गति पहिल्यैबाट तीव्र थियो। स्कर्पियोलाई भेट्नको लागि चालकले बसलाई अझै तीव्र गतिमा चलाए। त्यहाँ धेरै घुम्ती थिए। तीव्र गतिको बसले घुम्ती काट्न नसकेपछि अनियन्त्रित भएर दुर्घटन हुन पुग्यो।’ घाइते बोगटीले बसका सबै सिटमा यात्रु रहेको र तीन जना बसका स्टाफ उभिएर यात्रा गरिरहेका बताए।

null

घाइते लक्ष्मण बोगटी।

बस पहिलेदेखि तीव्र गतिमा हुँदा ओरालोमा ब्रेक लगाउँदा समेत बसको गति नरोकिएको बोगटीको भनाइ छ। ‘बसको गति तीव्र थियो। ओरालोमा ब्रेक लगाउँदा समेत गतिमा कमी आएको थिएन,’ उनले भने,‘ब्रेक र पाङ्ग्राको गन्ध आइरहेको थियो।’ बोगटीले उद्धारमा ढिलाइ हुँदा क्षति बढी हुन पुगेको बताए। उनले दुर्घटना भएको १ घण्टापछि मात्र उद्धार टोली पुगेर उद्धार गरिएको बताए। ‘म आफैं होसमा आएपछि उठेर बाटोसम्म आएको थिएँ,’ उनले भने,‘उद्धारको लागि स्थानीय र प्रहरीको टोली दुर्घटना भएको १ घण्टापछि आएर उद्धार गरे। समयमै उद्धार भएको भए केही घाइतेलाई बचाउन सकिने थियो भन्ने लाग्छ।’ हात, खुट्टा र मुखमा चोट लागेका बोगटीको अवस्था सामान्य रहेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ।

सोमबार पश्चिम रुकुमबाट काठमाडौंको लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ बस निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको थियो। दुर्घटानमा परी ७ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा निधन भएको थियो भने २८ जना घाइते भएका थिए। घाइते मध्ये २ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको थियो भने २६ जनालाई बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा ल्याइएको थियो। 

धौलागिरी अस्पतालका सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारीले अस्पतालमा चार जनाको उपचार भइरहेको जानकारी दिइन्। उनले मंगलबार गम्भीर घाइते १० जनालाई पोखरा रिफर गरिएको बताइन्। यस्तै १२ जना घाइते उपचारपछि डिस्चार्ज भएको सूचना अधिकारी भण्डारीले जानकारी दिइन्। 

दुर्घटनामा अन्नपूर्ण दैनिककर्मी रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार, दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टिका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा र ललितपुरका सुजन महर्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए।

घटनास्थलमै मृत्यु भएका सात जनाको शव संकलन गरी सोमबार राती नै रुकुम पठाइएको डिएसपि केसीले बताए। उनले दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.