काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ। बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू आ-आफ्नो सिटबाट उठेर अवरोध जनाएका छन्।
अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिएका छन्। उनले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि आफ्नो पार्टीले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाइन्।
सांसद न्यौपानेले गृहमन्त्रीमाथि अनुसन्धान गर्न अर्को बैठकसम्म संसदीय समिति गठन गर्नुपर्ने माग गरिन्। उनले भने,' गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझिनेछ।'
एउटै मुद्दाका दिपेश पुन पक्राउ पर्ने र लामिछाने कसरी गृहमन्त्री बने ? भन्दै प्रश्न समेत गरिन्। सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नसक्ने उल्लेख गरिन्।
सहकारी ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं अनुसन्धानको दायरामा रहेकोमा उनीमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान छ।
यसअघि कांग्रेसको उठाएको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार संसद बैठकमा जवाफ दिएपनि कांग्रेसले चित्त बुझाएको छैन। प्रधानमन्त्री प्रचण्डले सहकारीमा गृहमन्त्री लामिछानेको कुनै संलग्न नरहेको भन्दै उनको बचाउ गरेको उनको भनाइ छ।
सांसद न्यौपानेले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग प्रशस्त प्रमाण रहेको दावी गरिन्।