राजनीतिक विचार नबोकेका मान्छेले आलो पालोको कुरा गर्छन् : केपी ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विचार नबोकेका मान्छेहरूले आलो पालोको कुरा गर्ने बताएका छन्। काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता मान्छेहरू नेतृत्व गर्न योग्य नरहेको बताए।
उनले नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए। 'आलो पालो गर्ने कुरा अराजनैतिक विचार बोकेका मान्छेले गर्छन्। अहिले तपाईँको पालो त्यसपछि मेरो पालो। मेरोपछि तपाईँको पालो,' उनले भने, 'धारामा पानी थाप्न लाइन बसेको हो र पालो लिनलाई? तिम्रो गाग्री भरियो तिमी उता जाउ भन्नलाई। दसैंमा चिनी किन्न लाइन बसेको हो र? नेतृत्व गर्ने कुरा योग्यता क्षमता सक्रियता बुझाइलगायत कुरामा भर पर्छ।'
उनले अघिल्लो निर्वाचनमा काठमाडौंमा एमाले १० प्रतिशतमा खुम्चिएको बताउँदै त्यसलाई काठमाडौंका नेता-कर्यकर्ताले सुधार्नुपर्ने बताए। उनले आगामी निर्वाचनमा त्यस्तो परिणाम दोहोर्याउन नदिन जनताको घर दैलो पुग्न निर्देशनसमेत दिए।