बजेटरी सिस्टममा देखिएका व्यथिति थितिमा नल्याए ठूलो समस्या आउँछ : पूर्वअर्थमन्त्री महत
काठमाडौं : पूर्वअर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भएपनि बजेटरी सिस्टममा व्यथिति आएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले व्यथितिलाई थितिमा नल्याए ठूलो समस्या खडा हुने बताएका हुन्।
उनले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम गरेको दावी गरे। नेता महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादान क्षेत्रमा खर्च भएकाले अहिले समस्या आएको बताए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद डा.महतले कार्यकर्तामुखी बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव समेत दिए।
'बजेटरी सिस्टममा व्यथिति आएको छ। यसलाई थितिमा ल्याउनुपर्छ। यसलाई थितिमा नल्याउने हो भने हामी झनै ठूलो अप्ठ्यारोमा पर्छौं। नयाँ गठबन्धन बनेको छ। नयाँ अर्थमन्त्री बन्नु भएको छ। मैले सुनिराखेको छु। अब ठूलो बजेट बनाउनुपर्छ। २० खर्बको २१ खर्बको बजेट बनाउनुपर्छ। बनाउनुहोस् शुभकामना छ। २५/ ३० खर्बको बजेट बनाउनुहोस्। तर बजेट प्रस्ताव गर्ने। काल्पनिक आम्दानीको श्रोत देखाउने। सबै ठाउँमा राख्या छु भनेर पनि घोषणा गर्ने। र सँगसँगै आफ्ना कार्यकर्ताले चाहेका जे-जे मागहरू छन् त्यसलाई वितरण गरेर पूर्ति गर्ने। यसले एकछिन खुसी भएजस्तो देखिएला। तर, यसले दिर्घकालीन दायित्व सृजना गर्छ। र त्यो घोषणाहरू पूर्ति हुँदैन। त्यसपछि टाउकोमा रुनुपर्ला।'
उनले अर्थतन्त्रमा आफूले कोरेको अनुशासनको बाटोमा हिँड्न अर्थमन्त्री वर्षमान पुनलाई अनुरोध समेत गरे।