बाबुरामले भने- आफूसँग ७० प्रतिशत सदस्यसहितको बहुमत छ
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केही मान्छेहरू माओवादीमा गएको विषयलाई पूरै पार्टी नै माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको बताए।
राजनीतिक यात्रामा केही व्यक्तिहरू अर्को पार्टीमा जानु स्वभाविक भए पनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केही व्यक्तिहरू माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनले बताए।
भट्टराईले माओवादीसँग सहकार्य गर्ने कुरामात्रै भएको र सो पार्टीसँग पूर्णरूपमा मर्ज हुने कुरा कहिल्यै नभएको दाबी गरे। अहिले आफूहरूसँग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए। त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिए।
त्यस्तै उनले मुलुकलाई स्थिरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापितका लागि निरन्तर आवाज उठाउने बताए।