कर्जाको प्रयोग किन उद्देश्यमूलक हुनुपर्छ ?
बैंक तथा वित्तीय संस्थाको लगानीको मूल स्रोत भनेकै निक्षेप हो, जुन निक्षेपकर्ताको सम्पत्ति हो। यो सम्पत्ति निक्षेपकर्ताले मागेको बखत फिर्ता गर्नुपर्छ। त्यसैले बैंकले सुरक्षित तथा उद्देश्यमूलक लगानीको क्षेत्र खोज्छ। बैंकले गरेको लगानीको पैसा अबैध काममा प्रयोग नहोस् भन्ने सुनिश्चितता गर्छ। अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा बैंकले कर्जा लगानी उत्पादन, वितरण र उपभोगका लागि गर्छ।
बैंक सार्वजनिक निकाय हुन्। यिनले सर्वसाधारणको पैसा परिचालन गर्छन्। सार्वजनिक पद धारण गरेको व्यक्ति वा निकायको प्रथम दायित्व सार्वजनिक हितका लागि काम गर्नु हो। सार्वजनिक हित भनेको बहुसंख्यक जनसमुदायको जीवन उन्नति हुने गरी कर्जा लगानी गर्नु हो। क्षेत्रगत हिसावले अर्थतन्त्रलाई १५ क्षेत्रहरूमा विभाजन गरिएको हुन्छ।
बैंकले साँवा र ब्याज मात्र खोज्ने, कर्जा लगानीको उद्देश्य पूरा भएन भनेर नहेर्ने हो भने वास्तविक उद्योगी व्यवसायीलाई स्रोत अभाव हुन सक्छ। भैंसी, बाख्रा र गाई पाल्छु भन्दै ऋण लिएर जग्गामा हाल्ने, अन्न धान, मकै, गहँुजस्ता उत्पादन गर्छु भनेर लगेको ऋण सुनमा लगानी गर्ने, यस्तै स्याउ, सुन्तला, केरा उत्पादन गर्छु भनेर बैंकबाट पैसा लैजाने तर, सो पैसा सेयर बजारमा लगानी गर्ने हो भने देशको कृषि उत्पादन घट्छ। उत्पादनशील क्षेत्रमा रोजगारी गर्न पाउने अवसर गुम्छ। अन्ततः देशका युवा बिदेसिन बाध्य हुन्छन्। यस्तो नकारात्मक असर रोक्न पनि कर्जाको लगानी उद्देश्यमूलक हुनुपर्छ।
कर्जा उद्देश्यमूलक भएन भने सरकार तथा नियामक निकायले लिएको सामाजिक न्यायको सिद्घान्त पनि असफल हुन्छ। जस्तै विपन्नवर्ग तथा तोकिएको क्षेत्रमा पाँच प्रतिशत कर्जा अनिवार्य प्रवाह गर्नुपर्छ। कर्जा लिँदा तोकिएको शीर्षकमा असम्बन्धित व्यक्ति तथा समुदायले लिने तर, प्रयोग अन्यत्र गर्ने हो भने न्यून आय भएका र पिछडिएका वर्गको आर्थिक उन्नति तथा मूलप्रवाहीकरण हुँदैन। कर्जा प्रवाहमार्फत गर्ने भनिएको सामाजिक न्यायको नीति असफल हुन्छ। त्यसकारण कर्जाको लगानी उद्देश्यमूलक हुनुपर्छ।
(रेग्मी, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत हुन्।)