श्रीमतीको हत्या अभियुक्तलाई जन्मकैद
राजविराज : सप्तरीको बोदे बर्साइन नगरपालिका–७ फुलहराका ३० वर्षीय अखिलेश्वर प्रमाणीलाई श्रीमतीको हत्या अभियोगमा जन्मकैद सजायको फैसला भएको छ। उनलाई २८ वर्षीया श्रीमती रानीकुमारी प्रमाणीको हत्या कसुरमा जन्मकैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ।
जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले प्रमाणीलाई जन्मकैद सजायका साथै फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपैंयाँ जम्मा गर्नुपर्ने र पीडित पक्षलाई २ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ। अचानक पेट दुखेर अस्पताल लगेकोमा रानीको मृत्यु भएको भनेर प्रमाणीले रानीका दाजु बिष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनका नविनकुमार मण्डललाई भदौ २६ गते जानकारी गराएका थिए।
नविनका अनुसार तरकारी व्यापारी प्रमाणीको अन्य महिलासँग अनैतिक सम्बन्ध रहेको विषयमा पति–पत्नीबीच झै–झगडा हुने गरेको थियो। रानीले ०७९ भदौ २५ गते राति झैझगडा भइरहेका बेला हत्या हुन सक्ने गरी प्रमाणीले कुटपिट गरिरहेको भनेर फोनमार्फत सुनाएकी थिइन्।
उपचारका लागि भनेर धरान लैजादै गर्दा रानीको मृत्यु भएपछि आरोपितले शव फर्काएर ल्याइरहेका थिए। शवलाई बाटोमा पर्ने कोशी नदीमा फाल्ने योजना बनाएकोबारे सुइको पाएर एम्बुलेन्स चालकले इलाका प्रहरी कार्यालय कडरबोनासँग सम्पर्क गरी प्रहरीको सल्लाहमा शवलाई बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नै पुर्याएका थिए। शवको पोष्टमार्टम बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भदौ २६ गते भएको थियो।
प्रमाणीले रानीको हत्या गरेको भन्दै मृतकका दाजु नविनले भदौ २८ गते इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय कडरबोनाले असोज २ गते उजुरी दर्ता गरेको थियो। प्रहरीले आरोपितलाई असोज २८ गते गिरफ्तार गरेर सप्तरी जिल्ला अदालतमा कात्तिक २२ गते अभियोग पत्र दायर गरेको थियो। जिल्ला न्यायाधीश मौर्यको इजलाशले प्रमाणी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।