आमाबुवा हेड सर, छोराछोरी डाक्टर

आमाबुवा हेड सर, छोराछोरी डाक्टर
फाइल तस्बिर।
सुन्नुहोस्

रोचक कुरा के छ भने यो परिवारका तीन जनाले जाजरकोट जिल्लाबाट एसएलसी परीक्षामा जिल्लामा सर्वोेत्कृष्ट अंक हासिल गरी रेकर्ड कामय गरेका छन्।

जाजरकोट : आमाबुवा दुवै सरकारी विद्यालयका हेडसर। दुवै छोराछोरी डाक्टर यस्तो सौभाग्य कमैलाई प्राप्त हुन्छ। तर, जाजरकोट खलंगाका भक्तबहादुर मल्लको परिवारलाई यस्तो सुखद अवसर प्राप्त भएको छ। बुवा भक्तबहादुर मल्ल र आमा गिताकुमारी शाही मल्ल दुवैजना सामुदायिक विद्यालयका प्रधानाध्यापक छन्। छोरा भुपेन्द्र प्रकाश मल्ल र छोरी समीक्षा मल्ल दुवै डाक्टर छन्। अर्की छोरी सुष्मा मल्ल स्टाफ नर्स छन्।

२०२६ साल भदौ २६ गते भेरी नगरपालिका ४ मा जन्मिएका मल्ल सदरमुकाम खलंगास्थित त्रिभुवन माविका प्रधानाध्यापक हुन्। करिब ८ सय विद्यार्थी रहेको विद्यालयको नेतृत्व तीन वर्षदेखि गरिरहेका छन्। २०५४ सालमा अस्थायी रूपमा शिक्षण पेशामा जोडिएका उनी २०६० सालमा मावि तहमा स्थायी भएका थिए। हाल मावि तह द्वितीय श्रेणीमा कार्यरत मल्लले कानुनमा स्नातक र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका छन्। मल्लकी श्रीमती गीताकुमारी बुद्धि आधारभूत विद्यालय बोहराकी प्रधानाध्यापक हुन्। २०४६ सालमा स्थायी भएकी उनी प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत छन्। स्नातकसम्मको अध्ययन पुरा गरेकी उनी दुई वर्षदेखि प्रअको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

छोरा भुपेन्द्र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका छन्। जिल्ला अस्पतालमा ५ वर्ष सेवा गरेर उनी हाल विराटनगरमा एमडी गरिरहेका छन्। कान्छी छोरी समीक्षा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गरेर हाल जिल्ला अस्पताल जाजरकोटमा तीन वर्षदेखि मेडिकल अधिकृत पदमा कार्यरत छन्। छोराछोरी दुवै सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन पूरा गरेका हुन्। जेठी छोरी सुष्मा सरकारी स्थायी स्टाफ नर्स छन्। नेपाली सेनामा स्टाफ नर्समा नाम निस्केपछि केही समय काम गरेकी उनी सेनाको जागिर त्यागेर हाल शिक्षण अस्पताल महाराजगञ्जमा स्टाफ नर्समा कार्यरत छन्।

अर्को रोचक कुरा के छ भने सो परिवारका तीन जनाले जाजरकोट जिल्लाबाट एसएलसी परीक्षामा जिल्ला फस्र्ट गरेर रेकर्ड कामय गरेका छन्। बुवा भक्तबहादुरले २०४२ सालमा जिल्ला प्रथम भएर १२ सय पुरस्कार पाएका थिए। छोरा भुपेन्द्र २०६४ सालमा एसएलसीमा जिल्ला प्रथम भएर १० हजार नगद पुरस्कार र छोरी समीक्षा २०६८ सालमा जिल्ला प्रथम भएर १० हजार नगद पुरस्कार हात पारेकी थिइन्।

‘मैले सानो छँदा निकै दुःखजिलो गरेर पढेको हुँ। हामी आर्थिक अवस्था कमजोर थियो तैपनि मलाई मेरो बुवा र दाइले पढाउनुभयो। विवाह गरे। म अधिवक्ता पनि हुँ तर पनि दुवैजनाले शिक्षण पेशा रोज्यांै। छोराछोरीलाई पढायौं। छात्रवृतिमा नाम ननिस्केको भए निजी स्रोतबाट पढाउन सक्ने हैसियत थिएन। अहिले पनि छोराले एमडी गरिरहेको छ। जिन्दगीभरको हाम्रो जागिर छोराछोरीकै पढाइमा लगानी गर्यौं‍। मैले म पढेकै विद्यालय त्रिभुवन माविमा म प्रअ छु। छोराछोरीलाई पनि एसएलसी हालको एसईई सम्म यही विद्यालयमा पढाएको हुँ। भगवान््को कृपाले सबै राम्रै भएको छ। छोराछोरीले पढे। समक्ष भएका छन् यही कुरामा खुसी छौं’, उनले भने, ‘लगनशिलता र मेहनत नै सफलताको सारथी हुन्।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.