कोरियाली राजदूतले अर्थमन्त्रीसँग भने - लगानीका लागि कानुनी र प्रक्रियागत जटिलता छन्,समाधान गरिदिनुहोस्
काठमाडौं : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुन 'अनन्त'सँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वधार विकास,शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकोमा कोरिया सरकारलाई धन्यवाद दिएका थिए ।
मन्त्री पुनले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ( कोइका) को लगानीमा शिक्षा,स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिएका थिए।
राजदूत पार्कले नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको बताएका थिए।
पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिता बढाइ दिनका लागि राजदूत थेयङलाई आग्रह गरे । मन्त्री पुनले नेपालको कृषि, उर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गर्दै संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे ।
पुनले भने,'कोरिया एउटै पुस्थताले बनाएको देश हो । जसले भयाबह गरिबीको दुस्चक्र पनि भागैयो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ।कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन् ।’
राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोगजारी प्रणाली (इपीएस) लाई निरन्तरता दिने बताए । कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी दिए ।
नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो। उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको उल्लेख गरे ।
हाल गण्डकीमा सञ्चालित कोरियन भोकेशनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ थियो । नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको जानकारी राजदूतले दिए ।
आगामी मे महिनाबाट नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन आग्रह गरे । जवाफमा अर्थमन्त्री पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट रहेकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन लागिएको जानकारी गराए।
कोरियाले नेपालमा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए । राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरूका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए ।