लगानीमैत्री वातावरण बनाउन सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री भण्डारी
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताएका छन्। काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन द्रूतगतिमा आवश्यक कानुन संशोधनको तयारीमा सरकार जुटेको बताए।
आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गरे। साना तथा मझौला उद्योगको प्रवर्द्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उनले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताए।
‘कठिन समयमा व्यापार अवसर’विषय कार्यक्रममा उनले छिट्टै सरकारले वाणिज्य नीति समयानुकूल परिमार्जन गर्ने जानकारी दिए। उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न नसक्ने बताए।