पाखोबारीमा लटरम्म किबी
रसुवा : गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेगाउँका किसानहरूले पाँच वर्षअघि बारीमा रोपेको किवीका बिरुवाले फल दिन थालेका छन्। तालिम लिएर गरेको खेतीले फल दिन लागेपछि उनीहरू दंग भएका छन्।
६३ वर्षका सोनामफिन्जो थोक्राले किबी फलबारे थाहा पाउनेबित्तिकै दोलखाको बोचमा पुगेर दुई दिनसम्म किबी खेतीबारे तालिम लिए। उनले तालिममा सीपमात्र सिकेनन्, चार सय वटा बिरुवा ल्याएर बारीमा रोपेका थिए। अरू किसानले पनि रोपे। अहिले किवीको फल लागेर बेच्न थालेपछि स्थानीय खुसी छन्।
थोक्राले चार सय बिरुवा ल्याएकामध्ये १ सय ५० बोट किवी भने अघिल्लो वर्षदेखि नै फल दिन थालेको थियो। उनले गत वर्ष नै ५० हजार रुपैयाँको किवी बेचेको थिए। यसवर्ष एक लाख रुपैयाँको बिक्री गर्ने उनको लक्ष्य छ। ‘टाढा पुगेर महँगो तिरेर बिरुवा ल्याएर रोपियो फल दिन्छ कि दिँदैन भन्ने चिन्ता लागेको थियो। फल लागेपछि खुसी भयौं। अहिले गाउँका अरूले पनि रोप्न थालेका छन्।’
चारवटा पोथी बिरुवाका लागि एक भाले लगाउनुपर्ने किबीले कात्तिक, मंसिरमा फल दिन्छ। स्थानीय आइतराम थोक्रा र उनका छोरा दावा मिङमारले पनि किवी रोपेका छन्। फल स्थानीय बजारमै प्रतिकिलो तीन सय रुयैयाँमा बेचेको र पहिलोपल्ट परीक्षण सफल भएपछि खुसी लागेको मिङमारले बताए।
भिटामिन सी पाइने किबी फल लाम्चो गोलो ७ सीसी जति लाम्चो र स्वादिलो हुन्छ। १२ सय मिटरदेखि माथि २५ सय मिटरको उचाइको पहाडी भेगमा रोप्न सकिन्छ। एकपटक रोपेपछि लगातार ४५–५० वर्षसम्म निरन्तर फलदिन्छ। यसमा अल्सर, क्यान्सर, दम, मुटु, आँखा र छालाका समस्याबाट बचाउने तŒव रहेको हुन्छ। किबी खेती रसुवा र नुवाकोटका विभिन्न स्थानमा गरिँदै छ। कालिकास्थान, जिबजिबे, लोकिल, नौकुण्ड क्षेत्रमा पनि किसानले किवी खेती गरेका छन्। ठाडेगाउँ पासाङ ल्हामु सडकनजिकै रहेकाले गाडी रोकेर किन्नेहरू पनि धेरै हुन्छन्। ताजा र अर्गानिक हुने हुनाले धेरैले रसुवाको किबी खोज्छन्।
चिसो स्थानमा फलेको हुनाले बाहिरबाट आउने किबीभन्दा यहाँको स्वादिष्ट हुने स्थानीय शिक्षक लानाम घले बताउँछन्। ‘कोदो रोपेको भए मुस्किलले एक मुरी फल्थ्यो। किवीबाट मैले एक वर्षमा ८० हजार रुपैयाँ आम्दानी लिएको छु,’ स्थानीय दावा तामाङले भने। प्रतिकिलो २ सय ५० रुपैयाँमा गाउँबाटै बिक्री हुन्छ। पर्यटकीय क्षेत्र रसुवा आउने विदेशी तथा स्वदेशी पर्यटकले किनेर खाने हुनाले स्थानीय बजारमै बिक्ने किवी, यहाँका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ। कयहाँ उत्पादित किवी त्रिशूली, बट्टार, कालिकास्थान, बेत्रावती, धुन्चे, स्याफ्रुबेसी, टिमुरे र रसुवागढी नाकासम्म पठाउने गरेको किसानहरू सुनाउँछन्।