बजेट अभावले बबईमा तटबन्ध निर्माण रोकियो

बजेट अभावले बबईमा तटबन्ध निर्माण रोकियो
बजेट अभावले बबई नदीमा रोकिएको निर्माणाधीन तटबन्ध। तस्बिर : यादव आचार्य।
सुन्नुहोस्

गुलरिया : सरकारले निर्माण कम्पनीलाई समयमै बजेट भुक्तानी गर्न नसक्दा बबई भादा औरही नदी व्यवस्थापन आयोजनाको काम प्रभावित भएको छ। आयोजनाले निर्माण कम्पनीले सम्पन्न गरेका कामको बजेट समयमै भुक्तानी दिन नसकेपछि निर्माणाधीन तटबन्धनका काम रोकिएका छन्। 

बर्दियाको बारबर्दिया, ठाकुरबाबा, मधुवन र गुलरिया नगरपालिका हुँदै भारत बग्ने बबई नदी व्यवस्थापनको कार्यले पूर्णता नपाउँदा जिल्लाकै सदरमुकाम गुलरिया नगरपालिका क्षेत्रमा बाढी, डुवान र कटानको समस्या कायमै छ। ०७४ साल असोज ९ गतेदेखि बबई भादा औरही नदी व्यवस्थापन आयोजनामार्फत आर्थिक वर्ष ०८४÷८५ सम्म नदी नियन्त्रणको कार्य पूर्ण गर्ने लक्ष्य लिए पनि सरकार फेरबदल, बजेट अभाव लगायत राजनीतिक खिचातानीका कारण नदी नियन्त्रण गर्ने कार्यले पूर्णता पाउन सकेको छैन। आयोजनालाई बजेट अभाव भएपछि ४ वटा ठेक्का प्याकेजको काम निर्माण कम्पनिले बिचैमा छाडेको बबई भादा औरही नदी व्यवस्थापन आयोजना प्रमुख शिवजी साहले बताए। बालापुर, पशुहाट, थपुवा र सीमावर्ती गौढी क्षेत्रमा भइरहेको काम एक्कासि रोकिएको छ। ४२ करोड ४३ लाख रूपैयाँ बबई नदी व्यवस्थापनको दायित्व सरकारको देखिन्छ। बजेट अभावले समयमै काम नसकिने देखिन्छ। उनले भने, ‘बबई नदीको दाहिने किनारा पण्डितपुरदेखि सीमावर्ती भारतसम्म २८ किलोमिटर तटबन्धन गर्ने आयोजनाको लक्ष्य छ। जसअन्तर्गत बबईको भादा नदी २२ दशमलव ३० किमि र कर्णालीको औरही नदी २६ दशमलव ९६ किमि आयोजना क्षेत्र हो। अन्तिम चरणमा काम भइरहेको छ। सरकारले नियमावली संशोधन गरेर ठेक्काको म्याद थप गर्न अनुमति त दिएको छ। तर, बजेटका लागि सहजीकरण नहुँदा समयमा आयोजना सम्पन्न गर्न समस्या परेको छ।’

आयोजनाले गरेका काम सार्थक भई गुलरिया नगरक्षेत्र संरक्षित हुँदाहुँदै बजेट अभावमा टेण्डर भएका निर्माणाधिन थुप्रै कामहरू अधुरा हुनु दुःखद भएको गुलरिया नगरपालिका ५ का वडाध्यक्ष मुमबहादुर मल्लले बताए। निर्माण कम्पनीले पैसा नपाएर काम छाडेपछि आयोजना लथालिंग भएको छ। 

उनले भने, ‘सरकार र निर्माण व्यवसायीबीच आर्थिक द्वन्द्वात्मक अवस्था सिर्जना हुँदा जनताको काम समयमै सम्पन्न नहुने र वर्षातमा डुवानको समस्या दोहोरिने त्रास बढेको छ।’ आयोजना सुरु भएको यतिका वर्ष वितिसक्दा पनि योजना प्राथमिकीकरण गर्न राज्य गम्भीर नभएपछि सदरमुकाम डुब्ने चिन्ता थपिएको संघीय सांसद सञ्जयकुमार गौतमको भनाइ छ। अर्बौं रुपैयाँको लगानी भएको क्षेत्रमा सरकार गम्भीर भएन। 

निर्माणाधीन योजना समयमा सम्पन्न नभए सदरमुकाम जोखिममा रहन्छ। निर्माणाधीन काम अस्तव्यस्त छन्। उनले थपे, ‘संसद्मै आवाज उठाउँदा उठाउँदैसमेत कुनै सुनुवाइ हुँदैन।’ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको फागुन १० गतेको सचिव स्तरिय निर्णयले अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखासँग बबई भादा औरही नदी व्यवस्थापन आयोजनाका लागि थप १३ करोड ६६ लाख रूपैया व्यवस्थापनका लागि माग गरेको छ। बर्दियाको सबैभन्दा ठूलो चुनौती बबईको बाढी नियन्त्रण नै हो। केही प्वाइन्टहरूमा तत्काल काम सम्पन्न नभए वर्षातमा ठूलै समस्या आउन सक्ने बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले बताए। 

काम रोकिए निर्माण सम्पन्न भएका कार्यको पनि बाढीका कारण औचित्य तहसनहस हुने अवस्था छ। उनले भने, ‘तटबन्धको समस्यालाई विपत्को अत्यावश्यक समस्याका रूपमा उठाउने गर्छौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.