डोटीमा माटो खन्ने क्रममा च्यापिएर महिलाको मृत्यु, एक घाइते
डोटी : आज पनि डोटीमा माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ। शनिबार भएको घटना सेलाउन नपाउँदै घर पोत्ने माटो खन्ने क्रममा आइतबार थप एक महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आज दिउँसो करिब ३ बजेतिर माटो खन्ने क्रममा पुरिएर आदर्श गाउँपालिका–२ कुचेडाकी ६० वर्षीया भागादेवी ओझाको मृत्यु भएको हो।
उनीसँगै माटोमा पुरिएकी ५० वर्षीया पार्वती खड्काको भने उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। हिजो शनिबार माटो खन्ने क्रममा शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो। नयाँ वर्ष नजिकिएसँगै घर पोत्नका लागि रातो तथा कमेरो माटो खन्ने क्रम बढ्दा यस्ता घटना हुन थालेका छन्।