रंगसँग दिमागको सम्बन्ध
स्टैनफोर्ड विश्वविद्यालयका स्नायुवैज्ञानिक प्रा. डा. एन्ड्रयू ह्युबरम्यानले मानिसको जीवनमा खेलको महत्वमाथि प्रकाश पारेका छन्। उनको भनाइ छ कि बिना प्रतियोगिताको खेल (हारजितका लागि नखेलिने खेल), जुन खेल सिर्फ मनोरन्जनका लागि खेलिन्छ भने त्यसले मानिसको मस्तिष्कमाा अनेक प्रकारका ‘फिल गुड’ स्नायु रसायनहरू निष्कासन गर्छ, एड्रेनालाइनको स्तर कम गर्छ, जसले गर्दा तनाव कम हुन्छ, व्यक्तिले आनन्द र उत्साह अनुभव गर्छ। यतिमात्र होइन, यस किसिमको खेलले मस्तिष्कको न्युरोप्लास्टिसिटीको क्षमता पनि बढाउँछ। यस किसिमका खेलबाट बालकदेखि वृद्धवृद्धासम्मले उत्तिकै लाभ प्राप्त गर्न सक्छन्। होली पर्व पनि एक खेल नै हो। नाच्ने, गाउने, खाने तथा सानाठूला, साथीसंगी, आफन्त तथा छिमेकीसँग रंगहरू दलेर खेल्ने खेल हो।
दाजुको आदेशअनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका नै जलेर नष्ट भइन्। तर, प्रह्लादलाई केही भएन। होलिका दहनको यस खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको मान्यता छ। होलिका दहनको कथा कति सत्य हो ? आफ्नो ठाउँमा छ। तर, होली पर्वले असत्यमाथि सत्यको विजय, बसन्त ऋतुको आगमन एकता, सद्भाव तथा उमंग लगायतका मनोवैज्ञानिक तथा सामाजिक महत्वलाई दर्शाउँछ।
वास्तवमा यो पर्व जीवन, जगत् तथा मनोसमाजिक महत्वलाई राम्रोसँग बुझेका हाम्रा पूर्वजको महान् आविस्कार हो। होली पर्वमा खासगरी मन, रंग र समाजको सहभागिता रहन्छ। मनोविज्ञान भन्छ, मानिसको जीवनमा रंंगको ठूलो महत्व छ। बेरंग जीवन अर्थात् रंग बिनाको जीवन मानिसले सहजपूर्वक जीउन सक्दैन। यदि जीवनमा रंग भएन भने मानिसको मन उदास, निराश र बैचन हुन्छ। दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ। उसको आशा मर्छ।
विश्वास मर्छ। चाहना मर्छ। उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन। मानिस जिउँदो लास जस्तो हुन्छ। मानसिक समस्या डिप्रेसन भनेको यही त हो।
तर जीवन रंगिन भयो भने मानिसको मन खुसी हुन्छ। प्रसन्न हुन्छ। दुःखमा पनि सुखको आशा गर्छ। अँध्यारो पछिको उज्यालोको पर्खाइमा हुन्छ। कालो
बादलमा पनि चाँदीको घेरा देख्छ। त्यसैले मनोवैज्ञानिक रूपमा पनि मानिसको जीवनमा रंगको ठूलो महत्व छ। होलीमा थरीथरीका रंग खेल्नुको मनोवैज्ञानिक कारण पनि जीवनलाई रंगीन बनाउनु हो।
हुनतः समयसँगै जीवनमा रंग छर्ने थरिथरिका माध्यम थपिएका छन्। हिजोआज जीवनलाई रंगीन बनाउने अनेक माध्यम छन्। कोही फुटबल तथा क्रिकेट आदि जस्ता खेल खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन्। कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही होली जस्ता चाडपर्व मनाएर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रीति गाँसेर जीवनमा रंग छर्ने कार्य गरिरहेका हुन्छन्।
दसैं, तिहार, लोसार तथा होली आदि जस्ता रंगीन उत्सवहरूले सामाजिक तथा मनोवैज्ञानिक महत्व पनि राख्छ। वास्तवमा यस्ता उत्सवले मानिसको उत्साह बढाउँछ, दुःख पीडा, कुण्ठा तथा निराशालाई हटाउँछ। पारिवारिक तथा सामाजिक एकता तथा सद्भाव बढाउँछ। जीवनको अँध्यारोमा उज्यालोको रंग भर्ने काम गर्छ। यसका साथै होली लगायतका पर्व मनाउने क्रममा वस्तुहरूको प्रयोग गरिने भएकाले देश तथा समाजको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको पाईन्छ।
रंगको अर्को वैज्ञानिक पक्ष पनि छ, त्यो के हो भने रंगमा मानिसको मनमस्तिष्कलाई आकर्षित गर्ने शक्ति हुन्छ। श्यामश्वेतको तुलनामा रंगीन कुरा मानिसलाई याद पनि रहन्छन्। रंगहरूले मानिसको मनमस्तिष्कलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा थुप्रै अध्ययन अनुसन्धान भएका छन्। अनुसन्धानहरूबाट पुष्टि पनि भएको छ कि हरेक रंगमा मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मकरूपमा प्रभावित पार्ने विशेषता निहित हुन्छन्।
रंगहरूका आआफ्नै गुण, धर्म र विशेषता हुन्छन्। जस्तो कि रातो रंग प्रेम, उत्तेजना र क्रान्तिको प्रतिक हो। पहेँलो रंग बुद्धिको प्रतिक हो। निलो रंग सत्य र आशाको प्रतिक हो। हरियो रंग आशा, समृद्धि तथा बुद्धिको प्रतिक हो। गुलावी रंग दयाको प्रतिक हो। यसैगरी सेतो रंग शुद्धता, सत्ता र शान्तिको प्रतिक हो। अनि कालो रंग अँध्यारो, तिरस्कार तथा तमस बुद्धिको प्रतीक हो। मानिसको स्वास्थ्यका लागि सादा भोजनभन्दा रंगीन भोजन बढी लाभदायक हुने कुरा पोषणविद्को भनाइ छ। तर यसको अर्थ कृत्रिम रंगहरू मिसाइएको भोजन चाही होइन। अझ विभिन्न रंगका फलफूलको महत्व त झनै बढी छ। जसले मानिसको मनलाई आकर्षित गर्छन्, बढी सन्तुष्टि दिन्छन्, शरीरलाई आवश्यक पोषण तत्वहरू उपलब्ध गराउँछन्।
रातो रंगका फलपूmल तथा सागपात मुटुका लागि निकै उपयुक्त मानिन्छन्। अधिकांश रातो रंगका फलपूmल तथा सागपातमा प्रशस्त्र मात्रामा एन्टिअक्सिडेन्ट्स हुन्छ, जसले एथेरोस्क्लेरोसिस, हाइपरटेन्सन तथा हाइ कोलेस्ट्रोलको जोखिम कम गर्छ। यसका साथै रातो रंगका फलपूmल तथा सागपातले क्यान्सरको जोखिम पनि घटाउँछन् भने मस्तिष्क शक्ति बढाउन सहयोग गर्छन्। हरियो रंगका फलपूmल तथा सागपातले नेत्रज्योतिको रक्षा गर्छन्, उमेरसँग बढ्ने चाउरीपना कम गर्छन्। हरियो रंगका फलपूmल तथा सागपातमा फोलिक एसिड हुन्छ, जसले गर्भवती महिला र पेटको बच्चाको स्वास्थ्यमा महत्वपूर्ण भूमिका निभाउँछन्। पाचनशक्ति तथा रोगप्रतिरोधक क्षमता बढाउन सहयोग गर्छन्।
सुन्तले तथा पहेलो रंगका फलपूmल तथा सागपातमा पनि प्रशस्त्र मात्रा पोषक तत्व हुन्छन्, जसले स्नायु प्रणाली स्वस्थ र मजबुत राख्न, नेत्रज्योति बढाउन तथा हृदय रोगहरूको जोखिम कम गर्न सहयोग गर्छन्। यस्ता रंगका फलपूmल तथा सागपातले त्वचा स्वस्थ बनाउन, रोगप्रतिरोधक क्षमता बढाउन तथा हड्डी मजबुत बनाउन महत्पुर्ण भूमिका खेल्छ। टफ्ट्स विश्वविद्यालयमा गरिएको एक अध्ययनले रंगिन फलपूmल तथा सागपातमा पाइने फ्लेवोनायड्सले अल्जाइमर र अल्जामरसँग सम्बन्धित डिमेन्सियाहरूको जोखिम कम गर्ने देखायो। यस अध्ययनमा ५० वर्षमाथि २८ सय व्यक्ति सामिल थिए। अल्जाइमर जस्तो घातक रोगको अहिलेसम्म पनि कुनै औषधि उपचार नभएको अहिलको परिप्रेक्ष्यमा फ्लेवोनायड्सयुक्त फलफूलको सेवन यस रोग न्युनिकरणको उत्तम विकल्प हो। फ्लेवोनायड्स स्याउ, नस्पाती, बेरिज, प्याज, केरा, टमाटर आदिमा पाइन्छन्।
अतः मानिसले स्वस्थ जीवन जिउन जीवनलाई भौतिक तथा मानसिक, दुवै रूपमा रंगीन बनाउन आवश्यक छ। श्यामश्वेत सोच र व्यवहारले मानिसको जीवनरूपी गाडी सहज र सुगमताले अगाडि बढ्न सक्दैन। त्यो किनभने श्यामश्वेत जीवन समस्या हो, रंगीन जीवन समाधान। त्यसैले होलीको दिनमा मात्र होइन, हरेक दिन मनदेखि नै जीवनलाई रंगीन बनाऔं। रंगीन सोचौं, रंगीन खाऔं र स्वस्थ र आनन्दमय जीवन जिऔं।
लेखक साइकोथेरापिष्ट हुन्।