३८ बाट ७ दिनमा झर्यो रानाथारुको होली
महेन्द्रनगर : पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना समुदायको होली अन्य समुदायको भन्दा पृथक छ। यस समुदायको सबैभन्दा ठूलो चाडका रूपमा होली पर्व रहेको छ। राना समुदायमा होरी पर्व माघ पूर्णिमाबाट सुरु हुन्छ। पहिले राना समुदायले माघको पूर्णिमादेखि फागु पूर्णिमासम्म जिउँदो होली र फागु पूर्णिमापछिको आठौं दिन मृत होली गरी जम्मा ३८ दिन धुमधामसँग पर्व मनाउँथ्यो।
पछिल्लो सयम ३८ दिनको होली साता दिनमा खुम्चिन थालेको छ।
विशेष महत्व बोकेको राना होलीका विभिन्न समय, अवस्था र प्रहरसँगै गीतका भाका र लय फरक छन्। सोही अनुसारका होलीमा नाचिने नृत्यका तरिका समेत फरक छन्। सादा होली, पुरुष-महिलाको ठडौंवा होली, पुरुष-महिलाको लोहोकौंवा होली, कलाकार, खिचडी होली आदि राना थारूहरूले खेल्ने होली नृत्यका तरिका हुन्।
राना समुदायका जानकारहरूका अनुसार सुरुको दिन होलीको प्रतीक स्थापना गर्ने दिन हो। माघ महिनाको पूर्णिमाको दिन दाजुभाइहरूले गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन्। गाउँको चाकर अर्थात् चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्रीसहित होलीको प्रतीक पुतला स्थापना गर्ने प्रचलन रहेको भीमदत्त नगरपालिका–१९ का साहेव रानाले बताए। यसरी होली राख्ने परम्परागत चलनलाई राना भाषामा ‘होरी धरन’ भनिन्छ। यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने र गीत गाउँदै नाच्ने गरिन्छ।
++गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबै जना होलीमा रमाउँछन्’, रानाले भने, ‘होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने चलन छ।’ राना समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपले विष्णु भगवानका भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई आफ्नो काखमा राखेर जलाउन आदेश दिएका थिए। प्रल्हाद पनि आफ्नो बुवाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे। जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर खरानी भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन। त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर रानाहरूले होली पर्व मनाउने गरेको कथन छ।
फागु पूर्णिमाको दिन बिहान सबैले सरसफाइ गरी मीठा–मीठा खानेकुरा पकाइ खाने परम्परा छ। सोही दिन दिउँसो करिब ३/४ बजे गाउँका सबै दाजुभाइ दिदीबहिनी आ–आफ्नै परम्परागत पहिरनमा सजिएर होलीको पुतला दोहन गरिएको ठाउँमा गई चामल, गहुँ वा जौ चढाउँदै जलेको गुइँठालगायत अन्य काठ दाउराको खरानीको टीका लगाउने स्थानीय मधोवर रानाले बताए। ‘यस दिन वर्षभरिका दुःख कष्टलाई बिर्सने, छरछिमेकमा हुने आपसी मतभेद, लडाइँ, झगडा एवं हरेक प्रकारका बेमेलहरू त्यागेर राम राम भन्दै भेटघाट गर्ने दिन हो’, रानाले भनिन्, ‘होलीको टीका लगाउनु पूर्व आगो निभाउन र त्यसपछि टीका लगाउन खेलिने होलीमा गाइने गीतको छुट्टाछुट्टै भाका हुन्छन्।’
होलीकै अवसर पारी सामाजिक सद्भाव एवं आपसी सम्बन्ध बलियो बनाउन पालैपालो छरछिमेकमासमेत निम्ता गरी भोज खुवाउने परम्परा चलिआएको उनले बताइन्।