दुर्घटनामा एकै टोलका ५ जनाको मृत्यु, गाउँ नै शोकमा

दुर्घटनामा एकै टोलका ५ जनाको मृत्यु, गाउँ नै शोकमा
सुन्नुहोस्

अछाम: आइतबार चैत ११ गते पहाडको होली थियो। अछामका प्रत्येक गाउँटोलमा होलीको रौनक थियो। मेल्लेख गाउँपालिका १ ऋषिदहका लालबहादुर धामी लगायत ४ जनाले षोडशाको माडीगडामा खेलिने होली हेर्ने सल्लाह गरेका थिए। 

लालबहादुर धामी उनका बुवा ५५ वर्षीया रंग धामी र अन्य दुई ४५ वर्षीया प्रेम धामी,३७ वर्षीया नरबहादुर धामी बन्दै गरेको साँफे मेल्लेख सडकमा जालीमा ढुंगा भर्ने काम गर्दथे। होली हेर्न साँफेबगर नगरपालिका ४ को भण्डारी गाउँ ससुराली जाने तयारीमा थिए लालबहादुर। 

संगै काम गर्ने साथीहरु र षोडशा जाने ट्याक्टर फेला परेपछि उनी पनि माडिगडा पुगे। उनीहरु चारै जना ०१००२ त ४९७९ नम्बरको ट्याक्टरमा चढेर होली हेर्न माडीगडा पुगेका थिए। उनीहरुले पछिल्लो दिन कामबाट फर्कंदा सोही ट्याक्टरमा फर्किने निधो गर्दे होली खेल्नतिर लागे। 

पछिल्लो दिन काममा फर्किनु पर्ने भएकाले उनीहरु बिहानै त्यही ट्याक्टरमा चढेर फर्किए। नन्देगडाको सुयडा पुगेपछि खाजा खाने भन्दै रोकिए। खाजा खाएपछि ५ जना चालकसँगै अगाडि र लालबहादुर लगायत ३ जना पछाडि ढालामा बसे। गाडी चालक जनक धामीले ट्याक्टर अगाडि बढाउनै लाग्दा एक्कासी गड्याङगुडुग हुँदै सडकबाट तल खस्यो। 

लालबहादुरको आँखा अगाडि रात परेजस्तै भयो। उनले भने,‘एकछिन पछि मानिसहरुको भीड लाग्यो। आफूहरुलाई खुट्टाहात अनि अनुहारका चोट लागेको थियो। अगाडि बसेबा बुवालाई खोज्न थालें, ट्याक्टर मुनि ५ जना चेपिएको देखें। त्यो अवस्था देख्दा बुवा बाचे होलान् भन्ने लागेन।’ 

घरको आर्थिक अवस्था कमजोर भएका कारण बुवा छोरा नै मजदुरी गर्दै आइरहेको उनले बताए। दुर्घटनामा घाइते लालबहादुर र हंस धामीको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। अगाडि बसेका लालबहादुरका बुवा ५५ वर्षीया रंग धामी र ४५ वर्षीया प्रेम धामी,३७ वर्षीया नरबहादुर धामी,१५ वर्षीया जनक धामी र २१ वर्षीया जनक धामीको ज्यान गइसकेको थियो। 

मृतक १५ वर्षीया जनक साँफेबगरको होटलमा काम गर्थे। होली खेल्न र हेर्न उनी गाउँ गएका थिए। एकै वडा, एकै टोलका ५ जनाको मृत्यु भएको घाइते लालबहादुरकी श्रीमती चन्द्राकला धामीले बताइन्। उनले भनिन्, ‘घरमा दुई पैसा बढी आउला भनेर बुवा छोरा नै मजदुरी गर्थे। खाने परिवार ठुलो छ। घरमा सहयोग हुन्छ भनेर ससुरा पनि ज्यालादारी काम गर्थे। दैवले ससुरालाई खोसेर लग्यो। श्रीमान् घाइते छन्। किरिया बस्नै मान्छेसमेत छैनन्। खान लगाउन मुस्किल छ झन् यस्तो विपत आइलाग्यो। गरिबलाई जताबाट दुख मात्र।’ 

भारतमा नोकरी गर्दै आएका लालबहादुरको परिवार एक वर्ष पहिले गाउँ फर्किएका थिए। मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ। रंगहरुको पर्व होलीको रंग मेटिन नपाउँदै मेल्लेख गाउँपालिका शोक डुबेको छ। मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख सन्तोष पाठकले बताए। सोमबार बिहान ९ बजेर ४५ मिनेटमा ट्याक्टर एक्कासी अनियन्त्रित भइ २०० मिटर तल खसेको डीएसपी पाठकले जानकारी दिए। 

बयालपाटा अस्पतालमा घाइते र उनीहरुका आफन्त। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.