गुल्मी : वषौंदेखि लालपूर्जा नभएका नागरिकको लागि गुल्मीको रेसुङ्गा नगरपालिकाले निस्सा वितरण गर्न सुरु गरेको छ । नगरभित्र रहेका भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य सहित निस्सा वितरण सुरु गरिएको हो । लालपुर्जा वितरणका लागि नगरपालिका भित्रका भूमि दलित ४८ जना, भूमि सुकुमबासी ४४ र अव्यवस्थित बसोबासी तीन सय १३ जना गरी ५०५ जनालाई निस्सा वितरण गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
लालपुर्जाको आशमा लाभग्राही
रेसुङ्गा नगरपालिकाले निस्सा वितरण गरेसंगै लालपुर्जा पाउने आशमा लाभग्राही उत्साहित बनेका छन् । नगरपालिकाले झण्डै पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको छ । वषौंदेखि लालपुर्जा नभएकाहरूको सपना नगरपालिकाले पुरा गरिदिने भएपछि उनीहरू थप उत्साहित भएका छन् । निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरेर जग्गा वितरणका लागि नापजाँच गर्ने कार्य अगाडि बढ्ने नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
“लामो समयसम्म सुकुम्वासीको रुपमा बस्दै आएका नागरिकले निस्सा प्राप्त गरेसँगै लालपुर्जा पाउने बाटो खुलेको छ,‘नगरप्रमुख पन्थीले भने,‘संविधानले प्रत्याभूत गरेको अधिकार बमोजिम भूमिहीन दलित र सुकु मबासीलाई लालपुर्जा वितरणका लागि नगर अगाडि बढेको छ ।'
जिल्लाका १२ स्थानीय तहमा दुई हजार पाँच सय ९९ लाभग्राही भएको तथ्यांक रहेको छ । भूमिहीन दलित तीन सय आठ, भूमिहीन सुकुम्वासी दुई सय ६१ र अव्यवस्थित बसोबासी दुई हजार ३० गरी कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन् ।