गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवाको सुरु गरिएको छ।
नगरपालिका भित्रकामहिलालाई नियमित स्वास्थ्य जाँच गर्नका लागि त्रिपुराकोट स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको हो।
यसअघि प्रत्येक तीन महिनामा घुम्ती सेवाबाट भिडियो एक्सरे सेवा दिने गरे पनि अबदेखि भने स्वास्थ्य चौकीबाटै दैनिक रुपमा सेवा दिन सुरु गरिएको स्वास्थ्य शाखा संयोजक तुलबहादुर श्रेष्ठले जानकारी दिए।
नगरपालिका र स्वास्थ्य सेवा विभागबाट भिडियो एक्सरे मेसिन उपलब्ध भएसँगै सेवालाइ पनि नियमित गरिएको उनको भनाइ छ। ‘यसअघि गर्भवतीले स्वास्थ्य जाँच गर्नुपर्दा जिल्ला सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो, जसले गर्दा समय र पैसा खर्च हुन्थ्यो,अब त्रिपुराकोटमै सेवा सुरु भएको छ,जसको लाभ विपन्नदेखि दुरदराजका महिलाहरूले लिइराख्नुभएको छ’, श्रेष्ठले भने।
अहिले भिडियो एक्सरे मेशिन सञ्चालन गर्ने तालिम लिएका स्वास्थ्यकर्मी रोजिना पहाडी र धर्मादेबी बोहोराले सेवा दिइरहेको उनले बताए।