मेची नदी तैरिएर भारत प्रवेश गर्ने बंगालादेशी र नेपाली नागरिक पक्राउ
झापा : नेपालबाट अवैधरूपमा भारत प्रवेश गर्न खोजेको आरोपमा एक बंगालादेशी र एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन्।
काँकडभिट्टा नाकाबाट भारत प्रवेश गर्न लागेका बंगालादेशी नागरिक ३४ वर्षीय आलमगीर हुसेन र मेचीनगरका ३२ वर्षीय अनुप तामाङलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मंगलबार पक्राउ गरेको हो। तामाङले बंगालादेशी नागरिक हुसेनलाई अवैधरूपमा भारत प्रवेश गराउन खोजेका थिए।
सोही बेला भारतीय एसएसबी ४१ बटालियनको टोलीले उनीहरूलाई सीमा नाकाबाटै पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ। हुसेनले आफू बंगालादेशी नागरिक रहेको र आफू नेपालबाट अवैधरूपमा भारत प्रवेश गर्न लागेको प्रहरी समक्ष स्वीकार गरेका छन्।
पानीटंकी काँकडभिट्टा नाकामा भारतीय एसएसबीले परिचयपत्रको आधारमा नेपालीलाई भारत प्रवेश गर्न अनुमति दिएकोले बंगलादेशी नागरिक मेची नदी तैरिएर भारत जान खोजेका थिए। हुसेनलाई तामाङले सहयोग गरेको भन्दै पक्राउ परेका दुवै जनालाई एसएसबीले खोरीबारी प्रहरीलाई जिम्मा लगाइसकेको छ। खोरीबारी प्रहरीले आज सिलीगुरी जिल्ला अदालतमा पेस गरी कारबाही प्रक्रिया अघि बढाइसकेको जनाइएको छ।