कोशीमा बेपत्ता तीनैजना बालबालिका मृत भेटिए
उदयपुर : सुनकोशी नदीमा बेपत्ता भएका तीनैजना बालबालिका बुधबार मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो होली खेलेर नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनीहरू बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।
बेपत्ता भएका त्रियुगा नगरपालिका १३ साउनेका १२ वर्षीय लोकबहादुर मगरको ८ किलोमिटर तल कम्फुघाट पुलमुनी फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी सोही ठाउँका ९ वर्षीय रिदम मगरको दुई किलोमिटर र १२ वर्षीया रेखा मगरको सात किलोमिटर तल घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको छ।
बेपत्ता तीनै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र जनप्रतिनिधिहरूले खोजीकार्य गरेका थिए। वडाअध्यक्ष हिम मगरले करिब ४ दिनपछि तीनै जना बालबालिकाको शव फेला परेको बताए। डुबेका अन्य ५ जनालाई स्थानीयले सकुशल उद्धार गरेका थिए।