परीक्षामा जानेको प्रश्न सुरुमै लेखौं
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सञ्चालन हुँदै छ। सरकारले गत वर्षदेखि एसईईमा पनि अनिवार्य ३५ प्रतिशत अंक ल्याउनै पर्ने अन्यथा फेल हुने नीतिगत व्यवस्था गरेको थियो। तर, अघिल्लो वर्ष उक्त व्यवस्था लागू हुन सकेन। यस वर्षदेखि पूर्णरूपमा लागू हुने भनिएको छ। विगतमा भएका एसएलसी परीक्षाको तुलनामा एसईई मनोवैज्ञानिक रूपमा सहज देखिए पनि विद्यार्थीले सैद्धान्तिक लिखित परीक्षामा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्थाले पुनः विद्यार्थीमा एक खालको डर पैदा भएको हामी देख्छौं। तर, विद्यार्थी त्यस्तो त्रासबाट मुक्त हुन सक्नुपर्छ। परीक्षामा विशेष ध्यान दिएर प्रश्नको उत्तर लेखेपछि अनुत्र्तीण भन्ने हुँदैन।
सुरुमा सबै प्रश्नहरू राम्रोसँग हेर्ने गर्नुपर्छ। जानेको प्रश्नको सुरुमै उत्तर लेख्ने गर्दा समयको सदुपयोग गर्न सकिन्छ। परीक्षामा खटिने केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई परीक्षा भयरहित र शान्तपूर्वक गराउन हामीले प्रशिक्षण गराएका छौं। देशभरमै यो व्यवस्था भएको हुनुपर्छ। परीक्षामा विद्यार्थीलाई एसईईमा पुगेपछि मात्र होइन, तल्लो कक्षाबाटै सुधार गर्दै लैजान शिक्षकहरूले ध्यान दिनुपर्छ। एसईईमा सहभागी सबै विद्यार्थीलाई अग्रिम बधाई र शुभकामना।
(मरासिनी, शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख हुन्।)