आजदेखि एसईई परीक्षा सुरू, ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी (भिडियो)
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरू भएको छ । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । परीक्षा चैत्र २७ गतेसम्म चल्ने छ ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक/एक वटा परीक्षा केन्द्र रहेका छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१ र मनाङमा ४३ विद्यार्थी एसईईमा सहभागी छन् ।
एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरूले मौका परीक्षा भने दिन पाउने छन् ।