फेरि लोडसेडिङ नहोस्
नेपालमा विद्युत्को जडित क्षमता तीन हजार मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेचिरहेको पनि छ । बंगलादेशलाई बेच्ने तारतम्य छ । यस्ता खबरले नेपालमा बिजुली छेलोखेलो भएको आभास दिन्छ । तर, वास्तविकता के भने हिउँदको सुक्खायाममा नेपालमा ७ सय मेगावाटमात्रै बिजुली उत्पादन हुन्छ । अनि सबैका घरघरमा बत्ती बाल्न पनि नपुग्ने हुन्छ । बर्खामा बिजुली धेरै हुन्छ । हिउँदमा थोरै हुन्छ । त्यही भएर बर्खाको बिजुली भारतलाई बेच्न प्राधिकरण ।
भारतमा भने उल्टो छ— हिउँदमा बिजुली धेरै उत्पादन हुन्छ, बर्खामा थोरै । उता हिउँदमा धेरै भएका बेला यता नेपालतिर आयात गर्न दुई देशबीच ५ वर्षे सम्झौता छ । जसको प्रत्येक वर्ष नवीकरणचाहिँ गर्नुपर्छ । शनिबारसम्म नवीकरणको वार्षिक अन्तिम म्याद भए पनि नवीकरणको अन्योलले यता लोडसेडिङको जोखिम देखिन्छ । नेपालमा अहिले १८ सय मेगावाट बिजुलीको माग छ । तर, एकतिहाइभन्दा बढी अपुग हुन्छ । त्यही पूर्तिका लागि भारतको भर पर्नु परिरहेको छ । नेपालमा जलविद्युत्को अपार सम्भावना हुँदाहुँदै अझै पनि बिजुलीमा भारतको भर पर्नु बिडम्बना हो । जब कि नेपालमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सम्झौता पनि गरेको छ । तर, उत्पादनको तयारीचाहिँ देखिन्न । निर्माणाधीन आयोजनाहरू पूरा भए पनि त्यतिका परिणामको उत्पादन हुँदैन । बरु बूढीगण्डकी जस्ता १२ सय मेगावाटका ठूला आयोजना निर्माणमा अहिल्यैदेखि सुरुआत गर्ने हो भने आन्तरिक र बाह्य बजारमा बिजुली खपत गराउन सकिन्छ ।
ठूला आयोजनाहरू धमाधम निर्माण गरेर उत्पादनलाई आन्तरिक र बाह्य बजारमा बिक्री गर्न सकिन्छ । नेपालमै घरायसी प्रयोगको मागसमेत पूरा गर्न अहिले कठिन भइरहेको छ भने उद्योगधन्दा खुल्न र चल्न आवश्यक बिजुली अपुग हुन दुःखद हो । ऊर्जाबिना कुनै उद्योगधन्दा चल्न सम्भव हुँदैन । नयाँ लगानी भित्रन बाधक तत्व भनेको ऊर्जा हुनु र त्यो पनि जलस्रोतको धनी देशमा ।
सरकारमा बस्नेहरूले यति र उति मेगावाट बिजुली उत्पादन गर्ने भनेर घोषणाचाहिँ गरिरहन्छन् तर काम भने गर्दैनन् । त्यसैको परिणाम नै लोडसेडिङको जोखिम निम्तनु हो । अहिलेलाई बिजुली किन्ने सम्झौता नवीकरण हुनु अल्पकालीन समाधान मात्रै हुन्छ । यसले दिगो समाधान दिँदैन । नभए तत्काल निम्तने लोडसेडिङ हो । तर नेपालले दीर्घकालीन समाधानको बाटो नपक्डिए यस्तो जोखिम सधैं भइरहन्छ । बिजुलीको लोडसेडिङले फेरि नेपाली अर्थतन्त्रलाई झन्–झन् ओरालो लैजाने निश्चित हुन्छ ।