पुरानाको पतनोत्सव, नयाँको करणाभाव
जर्ज अर्बेलले भनेका छन्, ‘राजनीतिक भाषामा झूटलाई सत्य र हत्यालाई सम्मानजनक बनाउन शुद्ध हावालाई पनि बाहकका रूपमा डिजाइन गरिएको हुन्छ।’ सुनकाण्डमा ठूलो माछा समातिएको विषयलाई भावनामा बगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अस्पतालमा उपचारसहित पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरालाई सामान्य हाजिरी जमानतमा छाडेर सरकारको ‘करणा’ भन्दै सुशासनको उपहास गरे।
माओवादीमा सादगी क्रान्तिकारी नेता, जनजाति पृष्ठभूमिका जनयुद्ध कमान्डर रामबहादुर थापा बादल हठात् नेकपा एमाले प्रवेश गरे। एमाले र माओवादी मिलेर बनेको नेकपालाई अदालतले पुरानै अवस्थामा फर्काउँदा थापा एमालेमै रहे। यसअघि मोहन वैद्यसँग सहकार्य गरेर थापाले माओवादी विभाजन गरे। पछि फेरि माओवादीमै फर्के। उनको राजनीति गृह मन्त्रालयका लागि सुरक्षित भयो। अदालतबाटै कम्युनिस्ट पार्टी फुटाइँदा एमालेमा बसे। नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थापापुत्र प्रतीक, सल्लाहकारसमेत जोडिएपछि थापाको राजनीति गुमनाम जस्तै छ। २०६४ मा उदाएको क्रान्तिकारी शक्ति र शक्तिमा हालिमुहालीका लागि पार्टी फेर्ने नेता थापाको क्रान्तिकारिता पतनको सिकार भएर उठ्नै नसक्ने अवस्थामा पुगेको छ।
नेकपा विभाजनपछि माओवादी र एमाले फरक कित्तामा रहँदा पत्नीलाई समेत मन्त्री र सांसद बनाउन भ्याए थापाले। भने, ‘प्रचण्डलाई जेल हालिन्छ, जनताले चिडियाखानामा हेर्न पाउनेछन्।’ कम्युनिस्ट पार्टीमा कसैलाई दुश्मनको कित्तामा राख्न परे गरिने प्रहारमा थापाले कुनै कसर बाँकी राखेनन्। उनीसँगै एमाले छिरेर पार्टी सचिव र उपप्रधानमन्त्री बनेका टोपबहादुर रायमाझी पुर्पक्षमै छन्। अर्घाखाँचीको भूगोलमा लगभग एक्लै र विजेताको पगरी केही दशकलाई सुरक्षित रायमाझीले छोरालाई गर्न नहुने अपराध ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा संलग्नता नगराएको भए सन्तानसहित जेलको यात्रा तय हुने थिएन। माओवादी र एमालेमा रहँदा बरोबर सत्ताको चास्नीमा डुबुल्की मारिरहँदा पनि गरिएको लोभले क्रान्तिकारी छविमा लागेको दाग मेटाउन कठिन हुने देखिन्छ।
नेपाली जनता २०६४ यता इन्टरनेट साक्षर छन्। तिनले नयाँ शक्तिलाई जुरुक्क काँधमा बोकेर पुराना भनिएका र कुकर्ममा जोडिएका नेतालाई ठूलै पार्टीमा भए पनि नकार्न सक्छन् भन्ने पछिल्लो प्रमाण निर्वाचनमा देखाए। सत्तारोहणको १६ वर्षमा माओवादी पृष्ठभूमिका होनहार, दिग्दर्शक, पथ प्रदर्शक भनिएका नेतृत्व काया धमाधम पतनोत्सवका नयाँ पात्र भइरहे। फेरि जोडिएका पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री, माओवादी युद्धकालका धेरै नेताका ‘गुरू’ सत्तारुढ पार्टीका बहालवाला उपाध्यक्ष कृष्णबहादुर महरा। महराका छोरा राहुल पक्राउ परिसकेका छन्।
यसअघि पनि महरा यौन दुराचारको ‘सांस्कृतिक काण्ड’ मा मुछिएर जेल परे। सभामुख पद गुमाए। रवि लामिछानेले गृहमन्त्री पद गुमाएजस्तै। पार्टी अध्यक्ष लगातार प्रधानमन्त्रीमा बहाल रहँदा र १४ महिनाका बीचमा तेस्रोपटक विश्वासको मतमा सुरक्षित भइरहँदा उपाध्यक्ष समातिनु पक्कै प्रधानमन्त्री प्रचण्डका लागि सहज विषय थिएन। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि पक्राउ परिसकेका छन्। बाबुछोरा नै समातिनेमा माओवादी पृष्ठभूमिका नेताहरू टन्नै छन्। रामबहादुर थापा, टोपबहादुर रायमाझी, कृष्णबहादुरका बाबुछोरा नै भ्रष्टाचार, ठगी, मानव तस्करी, सहकारी ठगी प्रकरणमा जोडिँदा माओवादी नेतृत्वमाथि प्रश्नचिह्न खडा भएको छ।
नेपाली जनतालाई बहुविवाह, तास र क्यारेमबोर्ड खेल्दा तासको पत्ता र क्यारेम गोटी चबाउन लगाएर श्वेतसमाजको परिकल्पनामा लागेका नेताहरूको लगातारको बिचलनले नेपाली कम्युनिस्ट आन्दोलन धुजामुजा देखिन्छ। एकातिर सत्ताको बागडोरमा रहेकै पार्टीका नेताको चरित्र एकपछि अर्को उत्रन थालेपछि कम्युनिस्ट आन्दोलनका नाममा ‘सहकारीफोर’ र ‘सुनचोर’हरूको सरकार भनेर स्वयं कम्युनिष्ट घटक जनमोर्चाका चित्रबहादुर केसीले संसद्मै आलोचना गरे। खबरदारीका नाममा सत्तामा रहिरहने, प्रतिपक्षीलाई पाखा पारिरहने र सत्तामा रहँदा गर्न नहुने काम पनि फत्ते गर्न दबाब दिने कामसँगै नेपाली जनताको रगत पसिना चुस्ने काममा चैं चरम सत्तालम्पट अवसरवादी भएर निर्लज्ज प्रस्तुत भएको घटनाले कम्युनिस्ट आन्दोलनका दोस्रो र तेस्रो पुस्ताका नेताहरूले जनयुद्धको अरू अपमान गरे।
डेढ दशकमै नेपाली राजनीतिक दलका नेताहरू अपराध लुकाउन, जोगाउन, आफन्त संरक्षण गर्न सत्ता दुरुपयोग गरिरहेका छन् भन्ने जनताको आरोपमा नयाँ–पुराना सबै पार्टीका नेतृत्व कम छैनन् भन्ने पनि देखियो। सुनको कारोबारमा कम्युनिस्ट नेताको बलियो र अपत्यारिलो उपस्थितिले पक्कै राम्रो सन्देश प्रवाह भइरहेको छैन। बाँकी कम्युनिस्ट शक्ति पनि सत्ताका लागि मिल्ने र फुट्ने गरिरहेका छन् भन्ने सन्देश प्रवाह भइरहँदा चित्तबुझ्दो जवाफ दल र सरकारले दिन सकेको छैन। प्रतिपक्षीको बेन्चमा बसेको शक्ति सरकारलाई खबरदारीभन्दा सत्ताको साँचो किस्तीमा बोकेर बुझाउन हतारो गरिरहेको देखिँदा जनतामा घोर दिक्दारी देखिएको छ।
गणतन्त्र घोषणाको १६ वर्षमै गणतन्त्र संस्थागत गर्न खटिएका व्यवस्थापकहरूका कारण व्यवस्थामाथि धावा बोल्ने जनमत निर्माण भइरहेको छ। ‘हामी यति मूल्य दिन्छौं, तत्तत् नेताहरू मार्न पाउँ’ भन्ने आवाज ठूलो हुँदै गइरहेको छ। जनतालाई रुमानी सपनाले लपक्कै भिजाएर गणतन्त्रको कार्यभार पूरा गर्न हिँडेका व्यवस्थापक जब सत्तामा पुगेर गर्न नहुने उद्यममा बढी जोडिन थाल्छन्, व्यवस्थाप्रति नै प्रश्न उठ्नु स्वाभाविक हो। पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आक्रोश सम्बोधनको प्रयास गर्न खोजेकोजस्तो देखिएको छ।
पुराना सहकर्मी डा. बाबुराम भट्टराईको पार्टीमा समेत प्रधानमन्त्रीले प्रहार गरे। भट्टराई नेतृत्वको पार्टीको एउटा हिस्सा माओवादीसँग विलीन भएको छ। भट्टराईले पनि वंशवादको विरुद्ध जनतालाई उभ्याएर आफ्नो सिट प्रचण्डलाई छाडेर छोरीलाई काठमाडौंमा टिकट दिलाएकै हुन्। सहकर्मीहरू धमाधम छुट्टिँदै जानु अनि भएकाहरू पनि अनेक बदमासीमा जोडिएर समातिँदा पक्कै प्रधामन्त्रीलाई पीडाबोध भएको होला। सारथिहरूको यो हालत कल्पनाको विषय थिएन पक्कै।
तर नयाँ शक्तिको उदयसँगै व्यवस्था र व्यवस्थापकविरुद्ध जनतामा बढेको आक्रोशको आँकडा समाधानका लागि जुन अभ्यास भएका छन्। यसले सार्थकता पाए यही व्यवस्था र नेतृत्वले जनतामा सुशासन अनुभूत गराउन सक्ने देखिन्छ। उदाएका नयाँ शक्तिले पनि पहिलो परीक्षणमै भावनामा बगेर करुणरसको सहायता लिन थालेपछि सत्ता गठबन्धनका अरू परिदृश्य कस्ता होलान् ?