पशुपतिको श्लेषमान्तक वनक्षेत्रमा गरिने दाहासंस्कारका लागि वैकल्पिक स्थान खोज्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले एक वर्षभित्र पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न पूर्णरुपमा प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ।
६ वर्षअघि अधिवक्ता दीपक विक्रम मिश्रले दायर गरेको रिट निवेदनमाथि अन्तिम सु्नुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको माघ सात गतेको संयुक्त इजलासले श्लेषमान्तक वन क्षेत्रमा गरिने दाहसंस्कारका लागि अन्य ठाउँ खोज्न आदेश दिएको हो।
'लाश गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी यो आदेशको जानकारी पाएका मितिले बढीमा एक वर्षभित्र लाश गाड्ने सम्बन्धी स्थान सुनिश्चित रिलोकेट गर्नू, उल्लिखित एक वर्ष पछिदेखि श्लेषमान्तक वनक्षेत्रमा लाश गाड्न,फाल्न नपाउने व्यवस्था मिलाउनू, पाशुवत क्षेत्रभित्र कुनै पनि प्रकारको फोहोरमैला जम्मा हुन नदिइ तत्काल सफाइ गर्ने भरपर्दो व्यवस्था मिलाउनु भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ,'सर्वोच्चको आदेशमा भनिएको छ।
पशुपति क्षेत्रभित्र रहेको वनकाली,मृगस्थली,श्लेषमान्तक वन क्षेत्रभित्र श्रद्धालु तीर्थयात्री वा पर्यटकहरूको आवतजावतका लागि पैदल मार्ग निर्माण गर्न आदेश जारी भएको छ।
पशुपति क्षेत्रभित्र रहेका कुनै पनि भौतिक संरचनाको मर्मत सुधार गर्दा वा पुन:निमार्ण गर्दा यसको मौलिक स्वरुप कायम रहने र प्राचीन सम्पदाको अधिकतम् संरक्षण हुने अवस्था सुनिश्चित गरी पुरातत्व विभागको औपचारिक सहमति लिएर मात्र निर्माण गर्न भनिएको छ।