बगर रहेछ जिन्दगी...!
बाढीले ऊसको खेत मात्र बगाएन, उसका तमाम् सपनासमेत बगाए। सपनाको रित्ताो भाँडो बोकेर ऊ अरबको मरुभूमिमा छ। आँखा मनमायाको छटपटाएको छ। उता, जयरामको निधार !
उनेर सपनाको झिर, बरी लै ! उड्यो जहाज खाडीतिरैतिर
बादलमा हराउँदै गएको जहाज हेर्दै मनमायाको आँखा बगिरहे। भर्खरै यतैकतैबाट उसका तमाम् सपना सिमलका भुवाँ झैं हावाको झोंकामा उड्दैउड्दै विशाल कोलाजमा बिलाए। भासियो कतै घरको दलिन जस्तै भरोसा।
र, जिन्दगी जिउने केही थान सपना !
आकाशको विशाल कोलाजमा हराइसकेको जहाज हेर्दै मनमायाले आँखा पुछ्दै गोडा तन्काई। ऊ यस्तो अवस्थामा थिई— न डाँको छाडेर रुन सक्थी, न मन बुझाउन। गह्रौं मन, झन् छोराको नियास्रो अनुहार। छोरो औवालाई भने बाबा कहाँ÷किन गएको ? केही पत्तो थिएन। ऊ यत्ति बुझ्थ्यो— बाबा अब ऊसँग घरमा हुनेछैन। काँधमा चढेर कोशी किनारको फाँट ऊसले नियाल्न पाउने छैन। ऊसका कलिला औंलाले खिपेका बांगाटिंगा अक्षरमा डिक कोर्न सिकाउने हात हुने छैन। आँगनमा ऊसँगै भकुण्डो खेल्ने खुट्टा।
शायद, आँगन झारले ढाकिनेछ। हिलोमा दगुर्दा गुञ्जने गालीका मधुर स्वर। गाईबाख्रा चराउने एक दौंतरी र केही वर्षको लागि बाबा घरमा हुने छैन।
मनमायाका लागि श्रीमान् !
मनमायासँग हुनेछ त केवल उही बाढीले भत्काएको पुरानो र रित्तो घर।
जयरामको तालु र खेत !
बाढीले बगाएको बञ्जर खेत नियाल्दै जयरामको तालु सुक्यो। ऊ अवाक थियो। न मुस्कुराउन, न क्यै गर्न सक्ने अवस्थामा थियो। खेत झैं ऊसको हृदयको आत पनि सुक्खा बगरमा परिणत भएको थियो। एकदिन अघिमात्र ऊसँग सबैथोक थियो। झुप्रै भए पनि घर। थोरै भए पनि खेत। मन मिल्ने मनमाया। एउटा भैंसी। चारवटा बाख्रा र केही थान कुखुरा। तर, यी सबै–सबै एकै निमेषमा चकनाचुर भए, आँखै अगाडि।
अब त खेत पनि के भन्नु, बगर। पसिना रित्याएको खेत हराएको थियो। खेतसँगै जयरामको वर्षौंवर्षको मिहिनेत। ऊसका लागि यै खेतजीवनको कर्म÷धर्म थियो। मन्दिर भने पनि, मस्जिद भने पनि, सबैथोक। प्रत्येक साँझ÷बिहान माटोमा पसिना चुहाउनु, नमुना खेतीकर्म गर्नु र वर्षदिनको गुजारा त्यै घेग्रान जमिनकै त भर थियो। जेनतेन तीन सन्तान र गाईबस्तु पालिएकै थिए। तर, यो साल आएको वर्षाले आफ्नै तालु जस्तै चिल्लै पो भयो, खेत। जिल्लै पो भयो, जयराम !
गाऊँ छाडेर, बरि लै ! म कता जाऊ?
बस्तीबीचमा रहेको चौतारीमा टुप्लिँदा ऊ सुनाउँथ्यो— ‘पसिना त आफ्नै माटोमा पोख्ने हो, पसिनाको फसल यै माटोमा फुलाउने हो’, घुम्न जाने हो विदेश’, जयराम गाउँभरिका मान्छेलाई मीठा सपना बाँड्थ्यो। वास्तवमा ऊसले भनेका कुरामा असम्भव क्यै थिएन। कच्ची नै भए पनि बाटो गाउँमै पुगेको थियो। बिजुली, पानी घरघरमा जडान भएका थिए। बच्चाहरू दगुर्ने चौरी र कक्षा पाँचसम्म पढाइ हुने विद्यालय बस्ती छेउ थियो। झन् देशले संघीयता भिœयाएपछि सिंहदरबार घरछेउ पुगेकै थियो। किसानका निम्ति थुप्रै कार्यक्रम र सहरको सुविधा गाउँ पसेकै थियो।
कोशी किनारमै भए पनि सानो गाउँ। गाउँ के भनौं आठ–दस घरको बस्ती। किनारमा भएर होला फाँट भने चाक्ला र फराकिला थिए। वर्षदिनभरि जेनतेन ज्यान धान्ने उब्जनी हुने भएकाले गाउँलेहरू अहिलेसम्म यै खोंचमा अल्झेका थिए। टोलका भुराभुरी कान्लाकुन्लीमै भुल्लिन्थे। उच्च शिक्षा हासिल गर्न पहाड उक्लेर अर्को गाउँ पुग्नुपथ्र्यो। कोशी छेऊको खोंच भएर होला गर्मीमा उत्पातै गर्मी र जाडोमा उधुमै ठण्डी। जयरामको जिन्दगी पनि त यस्तै न थियो। अभावमा उत्पातै अभाव। सुखका छिटपुट केही थान दिन। ऊसको सात्विक जिन्दगी टालटुल कटेकै थियो। दिउँसो फाँट डुल्थ्यो। साँझपख गाईबस्तुको लागि घासदाउराको जोहो।
कसको आँसु खस्यो, बरी लै ! बाढी पस्यो है !
...हप्ता दिन बितिसक्दा पनि झरी रोकिएन। झरीकै कारण घाँसपात जोहो गर्न कठिन भयो। खेतका बाँकी काम गर्न पाइएन। ‘पक्कै ! उभो लेखतिर ठूलै पानी दर्के जस्तो छ’, जयराम चुलोछेऊ ठुटो बिडी सल्काउँदै सुस्तरी सुसायो।
मनमाया भात फत्काउँदै थिई। छोरो औवा भने सानो पाठोसँग उफ्रँदै।
‘हन्, यस साल ठूलै बाढी पस्छ कि क्या हो ?’, मनमायाले आँखा तन्काउँदै डर पोखी र एकसुरमा बूढोतिर हेरिरही। ‘कोशी छेउमै छ खेत’, यै खेतले वर्षौंवर्षदेखि तिन्टाको प्राण धान्दै आएको छ। ऊसबेला बा’लाई नदीछेउकै खेत नदेऊ। मेरो खेतीकिसानीबाहेक आम्दानीको क्यै स्रोत छैन। मलाई बाढी नपस्ने सिरानतिरका खेत देउभन्दा बूढो मानेनन्।
‘आखिर बेचेरै सहर जाने रैछन्, तिन्ले। खेतीकिसान गर्ने मलाई दे’को भा के बिग्रन्थ्यो ?’, ऊ झन् ठुटो बिडी जोडजोडले तान्दै रन्थनियो।
‘बाढी पस्यो भने त...?’, मनमाया एक्कासि च्याठिई। छोरो अझै पाठोसँग खेल्दै थियो। तर, जयरामको चिन्ता भने झन्झन् बढ्दो।
बाउको अंशमा मिलेको कोशी छेउको खेत। जयरामको सर्वश्व।
‘खेतमा बाढी पस्यो भने त बर्बादै हुन्छ नि’, निन्याउरो अनुहार लगाउँदै लामो सुस्केरा तान्यो । दुईपटक तिघ्रामा प्याटप्याट हात बजा¥यो र तालु कनाउँदै ऊ जुरुक्क उठ्यो। फटाफट जस्केलो छेउ पुग्यो र घ्यार्र ढोका उघार्दै कोशीतिर एक निमेष नजर डुलायो।
कोशीको भेल आफ्नै लयमा सुसेल्दै उँधैउँधै बेगले झर्दै थियो। लाग्थ्यो— झरी नरोकिए ठूलै भेल फाँटातिर पस्ने लगभग पक्का थियो। ‘भात पाकेन’, जयराम जस्केलोको ढोका ढ्याप्प लगाउँदै ठूलै स्वरमा चिच्यायो।
‘दाल झान्दै छु, भात पाकिसक्यो त !’, मनमाया चुलोबाट दालको डेक्ची झिक्दै दूध बसाल्न थाली। साँझको समय भएकाले होला हावाहुरीसहित पानीका बाछिट्टा बेतोडले हुर्रिएको आवाज घरभित्रैसम्म सुनिन्थ्यो।
भात पस्केर झर्काको थालबाट धमाधम च्याख्लाको ढिँडो खाँदैथिए। एकाएक बाहिर हल्ला मच्चियो। जयराम जुरुक्क उठेर हात नचुठी दलानमा निस्कयो। तलबाट कोही नाइटोदेखिको बल लगाउँदै चिच्याउँदै थियो— ‘बाढी पस्यो ! बाढी’, बालबच्चा, भ्याएसम्म झोलिटुम्मा सबै बोकेर पहाड उक्ल !
चिच्याउ ! कराऊ ! खबर गर। सबै–सबैलाई !
लौ ! बर्बाद भो ! कसैका हिक्कहिक्कका आवाजमात्र सुनिन्थे। कोही डाँको हालेर रुँदै दगुर्दै थिए। कोही भने चिच्याउँदै सम्पत्तिको लोभ गर्ने होइन, यस्तो विपद्मा जिन्दगी बचाउने हो, कराउँदै उक्लँदै थिए।
जयरामलाई भने के गरौं ? कसो गरौं ? भयो। अलमलमा प¥योे। रनभुल्ल भो। झन् ऊसको खेत त नदी छेउमै थियो। ऊ झन् रन्थनियो र दलिन छेउमा अनायासै
डङ्रङ्ग्र ढल्यो। मनमायाले लोग्ने–छोरो दुवैलाई बेहोसीमै डोराउँदै छिट्छिटो उँभोतिर दगुरी।
तल सिरानबाट बडेमानको भेल खेततिर पसेको दृश्य सजिलै देखिन्थ्यो। झन् जूनको फुर्का पानीमा टल्केर छालका लहरहरू बस्तीसम्मै पसेको प्रस्टै देखिन्थ्यो। ‘यसै रातको डर थियो जयरामलाई। र, यो रात अन्ततः आँखै अगाडि विपत् बोकेर आइपुग्यो। जिन्दगीको लागि तहसनहसको भेल। जिन्दगीको बगर बोकेर।
बरी लै ! बाध्न सकिएन बाँध, साँच्न सकिएन उद्यमी सपना ...!
आठ पास जयराम उद्यमी कुरा गथ्र्यो। गाउँका सबैलाई आधुनिक खेतीका कुरा सुनाइरहन्थ्यो। ऊ बेलाबेला चौतारीमा हुने जमघटमा आधुनिक कृषि खेतीबारे बर्बराउथ्यो। गाउँले पनि अझै उही पुख्र्यौली खेतीमै अस्तव्यस्त भेटिन्थे। पुरानै खेती कर्मले हाम्रो जिन्दगी उभो लाग्ने छैन। क–कसलाई सुनाओस् ऊसले। सन्ततिले दुःख पाउनेछन्।
जीवन निर्वाह झन्झन् कठिन हुनेछ। गाउँलेहरू उसको कुरा सुनेर ओठ लेप्राउँथे।
‘परम्परा खेतीले न वर्षभरि खान पुग्थ्यो, न वस्तुभाउका लागि दाना’, हामीले सामूहिक व्यावसायिक खेती गर्न ढिला गर्नु हुँदैन, ऊ कृषि ज्ञानज्ञुनका कुरा फिजाउँथ्यो। कोशी फाँटलाई पकेट क्षेत्र बनाउनुपर्ने, व्यावसायिक खेती गर्न गाउँपालिकाबाट उन्नत बिउबिजन, पशुको नश्लसुधार, माटो परीक्षणलगायत व्यावसायिक कृषिसम्बन्धी आवश्यक कृषि प्रविधि झिकाउन सामूहिक पहलको आवश्यकता रहेको सुझाउँथ्यो। यो हामी सबैको साझा अभियान हो, एकजुट हुन जरुरी छ। साँझबिहान भेटिने सबैलाई ऊ सुनाउँथ्यो। बस्तीका ज–जस्ले बुझे उसका कुरा, ऊ बुझेकाले सबैलाई बुझाउन जरुरी छ, भन्न छुटाउँदैनथियो। ऊ झक्झकाइरहन्थ्यो, गाउँलेहरूलाई।
तर, गाउँलेहरू उसको कुराबाट घाम झैं कहिल्यै उदाउन सकेनन्। गाउँलेहरू बुझे पनि नबुझे झैं गर्थे उसको कुरा। तर, चाख चै मानेर सुन्थे है ! वास्तवमा, जयरामसँग त उन्नत खेती गर्ने जमिन पनि थिएन। बगर छेउको घिग्रानलाई के जमिन भन्नु, के खेत ? मलिलो चाक्लो माटो त भित्री फाँटमा थिए। ती जमिन अर्कैका थिए। ऊसको खेत कोशीकिनार छेउ। घेग्रान। जुन कुनै वर्ष बर्खाले बगरमा परिणत गराउन सक्थ्यो। त्यसैले ऊ कोशीमा बाँध छिट्टै बाँध्नुपर्ने गाउँलेलाई सुनाइरहन्थ्यो। गाउँका पुरुषहरूसँग चौतारीमा भेला भएर गफ चुट्नेबाहेक अर्थोक क्यै आम्दानीका काम थिएन। बिहानीपख गाईबाख्रा जंगल डुलाउने। र, दिउँसो चौतारीको शीतल ताप्दै गफ चुटेरै दिन कटाउने। बालबच्चाको शिक्षा लगायत केहीको कुनै चासो थिएन। जीवनको कठिन संघर्ष यथावत् नै थियो। झन् आर्थिक अवस्था दयनीय। तर, जयराम यो कुरा स्वीकार्न तयार थिएन।
ऊ पौरखमा विश्वास गथ्र्यो। त्यसैले, ऊ कोशी किनारको फाँट बचाउन यसैसाल बाँध बाध्नैपर्ने। गाउँलेहरू सबैको सहयोग चाहिने। जमिनलाई पकेट क्षेत्र बनाई विशेष व्यावसायिक खेतीको थालनी गर्ने। नयाँ नहर बनाउने। पुरानो नहरलाई फरासिलो बनाई पर्याप्त पानी खसाल्ने योजना बुन्थ्यो। गाउँको प्राथमिक विद्यालयलाई माध्यमिक तहमा स्थापना गर्ने लक्ष्य सुनाउथ्यो। ऊ आफ्ना तमाम् सपनाहरू गाउँमै देख्थ्यो। गाउँलाई साँच्चै गाउँ जस्तै सुन्दर बनाउने सपना बुनिरहन्थ्यो।
तर, गाउँलेहरूले उसको कुरामा कहिल्यै चासो देखाएनन्। जसको परिणाम अहिले सिंगो गाउँले भोग्दै छ। त्योभन्दा बढी जयरामले। बाढीले ऊसको खेत मात्र बगाएन, उसका तमाम् सपनासमेत बगाए। ऊ आफ्नो सपनाको रित्तो भाँडो बोकेर अहिले अरबको मरुभूमिमा छ। यता, मनमाया बाढी नपसेको भए... शायद, जीवन अर्कै हुने थियो कि ? आँखा मनमायाको छटपटाएको छ। उता, जयरामको निधार !