अस्तित्वविहीनहरूको अस्तित्व
नेपाल भनेको पुँजीपति व्यवसायी मात्रैको देश हो ? उसो भए नेत्रप्रसादहरूको कुनै अस्तित्व छैन ? यदि छ भने सरकारले किन केही सोच्दैन ?
विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ। सधैं सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने त्यसले विकासको बाटो समाउन सक्दैन। हरेक क्षेत्रमा विशेषज्ञता हासिल गरेका जनशक्ति र कुशल नेतृत्वसहितको स्थिर सरकार भयो भने छोटो समयमै विकासका बाटा खोलिन सक्छन्। विश्वमा यस्ता कैयौं देश छन्।
नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुक हो। अर्को, विश्वमै जलस्रोतको दोस्रो धनी मानिने यस देशमा बाह्रैमहिना पहाडी भेगबाट बगिरहने खोलानाला तथा हिमनदी छन्। माल पाएर पनि चाल नपाउने हामी यत्रो पानी खेर गइरहेको अपार जलस्रोतलाई सिँचाइ र विद्युत् उत्पादनमा लगाएर कृषि क्षेत्रको विकास गर्न सकेका छैनौं। औद्योगिक उत्पादन वृद्घिमा चुकेका छौं। यगरी कसरी आर्थिक समृद्घि हासिल गर्न सकिन्छ ?
स्वर्गतुल्य भूमि नेपाल यतिखेर बेरोजगारको समस्याले आक्रान्त छ। कुनै पनि राष्ट्रका लागि बेरोजगारी गम्भीर समस्या हो। गरिबी बेरोजगारको कारण हो भने बेरोजगारी गरिबीको कारण हो। ग्रामीण क्षेत्रमा रोजगारको अवसर नहुनाले र सहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउने यथार्थता ठूलो जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको पाइन्छ।
नेपालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था २०४२ सालमा मात्र भएको हो। पहिलो आर्थिक सर्वेक्षण अनुसार वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या ५६ लाख ६३ हजार नाघिसकेको छ। त्यसमा पुरुष ५३ लाख ४८ हजार र महिला ३ लाख १६ हजार छन्। एक अध्ययनअनुसार साढे ३ लाख नेपालीको कर्मभूमि भइसक्यो कतार। यस प्रकार रोजगारीका लागि १ सय ५० देशमा श्रमिक गएको तथ्यांक छ।
नागरिक आवाज छ, नेताले देश सिध्याए। कति भोट दिनु ? जुन पार्टीको सरकार बने पनि आखिर निमुखा र असहाय जनताका लागि खै के गरे ? फगतमा भाइ,भाइ लडे। हानाथापको त्यो स्थितिमा कति निर्दोष मरे ? मारिए। कतिले अभिभावक गुमाए ? कति बालबच्चा टुहुरा भए ? कति यौवनाको सिन्दूर पुछियो ? कति बाबुआमाको काख रित्तियो ? यसले पनि देश पलायन ह्वात्तै बढ््ये। रात पछि दिन, घाम पछि जून। जिन्दगीमा दुःख भनेको पाहुना जस्तो हो, त्यो आउँछ जान्छ। आफ्नै माटोमा पसिना फलाउने नेत्रप्रसाद यतिखेर भने दोमनको स्थितिमा छन्। उनी यो बिलखबन्दीमा किन दाखिल भए ?
‘म नेत्रप्रसाद भुसाल। मेरो जन्म नवलपरासी जिल्लामा भएको हो। हाम्रो बुवाहरू पर्वतबाट झरेर पहिला चै चितवन बस्नु भा’रैछ। रूपन्देही चाहिँ मेरो मामा घर। मैले मामा घर बसेर पढेको। विद्यार्थी जीवनका ती दिनमा कुनै विषय अप्ठ्यारो नलागी एसएलसी पास भएँ।
एघार बाह्र पढ्न आफैं खर्च जुटाउँथें। घरको कमजोर आर्थिक अवस्थाको कारण पढाइमा टेवा नहुनाको परिणाम स्नातक पढ्न सकिनँ। पाइनँ। त्यही बेला कामको खोजीमा भारत गएँ। उता सात वर्ष बसें र नेपाल फर्कें। विदेश जान भनेर काठमाडौं आएको हो। भिसालाई आवश्यक कागजात तयार गर्दै मन बदलियो। चिलगाडी चढ्ने रहर यत्तिकै सेलायो।
अर्को कुरा, उताको कमाइ बुझ्दा लाग्यो, त्यहाँ गर्ने जति दुःख यही मेसो बनाउन सके यो त आफ्नो माटो हो। मानिसको जीवन जीव र वनस्पतिमा आधारित छ। वनस्पति र जीवको आधार पृथ्वी हो। भूमि हो। काम गर्दै जानुपर्छ, सफलताको घडी कहाँ, कतिखेर र कुन बेला कसरी घुम्छ– थाहा हुन्न। हो, अरूको लाख आमाको काख।
काठमाडौं आउनासाथ किनेको ठेलागाडी विदेश नगइसकेपछि निरन्तर रूपमा चालु छ। यसैले पालेको छ। के गर्नु ? बाँच्ने÷बचाउने आधार नै उही भएको छ। गाडा किनेको पाँच वर्ष भयो तर त्यहाँभन्दामाथि उक्लिन भने सकेको छैन। हिम्मत छ, सटर लिएर व्यापार गर्न तर सुरु गर्नै चर्को। पैसा सापट लिन के धितो राख्नु ? आफूसँग केही छैन।
भारत बसेर कमाएको रकमबाट कागती व्यापार सुरु गरें। कालिमाटी गएर होलसेलमा ल्याएर धेरै बेचें। त्यही भएर इष्टमित्रले मेरो नाम नै कागती भाइ राखिदिनु भा’छ। ६ हजारका कागती ठेलागाडामा राखेर २÷३ दिन डुलाउँदा बिक्री भइसक्थ्यो। क्यालकुलेटर थिचेर हिसाब जोडेको त किन मलेसिया जानु, साउदी नै पुगे पनि योभन्दा बढी कमाइ हुँदैन भनेर चुपचाप आफ्नो कर्मतिर मात्रै ध्यान दिन थालें।’
खुसी लाग्यो। नेत्रप्रसाद उर्फ कागती भाइका कुरा सुनेर। अझ, उहाँले गर्नुभएको मिहिनेत कति राम्रो ! आफ्नै देशमा बस्नु पर्छ। कुनै काम सानोठूलो हुँदैन। बडो घत लाग्ने कुरा गर्नुभयो। धेरै अघिदेखि म पनि कागती किन्थें, अचेल नि किन्छु। दानाको हिसाबमा होइन, तौलेर कम्तीमा आधा केजी, निम्की बनाउन बाहेक।
एक दिन घर फर्किने क्रममा उनै भाइसँग जम्का भेट भयो। सिजनअनुसारका तरकारी बेच्दै हिँड्नु भारैछ। भिन्डी, करेला, बन्दा, गोलभेडा, खुर्सानी, लसुन, काँक्रो, मुला, गाँजर यस्तै यस्तै। नामकरण भएको चिज कागती त छुट्ने कुरै भएन। आवश्यक सामान तौल गर्दै सोधें, ‘भाइसँग एउटा संवाद गर्नुप¥यो। राष्ट्रियस्तरको पत्रिकामा छापिएर आउँछ। हुन्छ ? सडक व्यापारीका कर्म नागरिकसँगै सरकार समक्ष पु¥याउनु छ।’
‘तपाईं पत्रकार हो ?’ उनले सोधेको प्रश्नको उत्तर हातमा बोकेको पत्रिका देखाएर दिएँ। त्यता नियालेर मलाई हेर्दै भाइ खिस्स मुस्कुराए। त्यहाँको रंगीन वातावरणलाई दृष्टिगत गर्दै थपें, ‘यस्तो युवा मान्छे, ठेलामठेल सहरको यो भीड, देशको केन्द्रीय राजधानीजस्तो ठाउँमा कति सहज तरिकाले व्यापार गर्दै हुनुहुन्छ ? घरथर बाँच्न अनि बचाउन तपाईंले जुन मिहिनेत गर्नुभएको छ। यो संघर्षको कथा यहाँ हातमा दही जमाएर बस्ने युवाका लागि प्रेरणा र खुराक हुन्थ्यो कि ?’
हुन त खोइ किन यो समय नै लायक छैन। त्यसमाथि सडक व्यापार झनै गाह्रो। अर्को, संसारमा कतै नभएको चलन नेपालमा यसरी पनि काम गर्नेको जमात छ। तर यो देख्दा विदेशी पर्यटकलाई भने कस्तो लाग्दो हो ? सडकैभरि मान्छे। अनि, बाटो–दोबाटो–चौबाटो–गल्ली जहाँ पनि व्यापार।
सोधें, ‘नगरपालिकाको चपेटामा परिएको छ÷छैन ?’ ‘किन नपर्नु नि दिदी। यस्तै तरिका हो भने अब यहाँ बसेर काम गरेर खान सजिलो छैन। हुन त मेरो ठूलो नोक्सान भा’छैन। एक पटक काँटा लगे। काठमाडौंको बास कोठाभाडा सात हजार तिर्नुपर्छ। खानु प¥यो। लाउनु प¥यो। अहिले एउटा बच्चा सानै छ। भोलि त्यसलाई पढाउनु प¥यो। थाहै छ, नेपालको शिक्षा कति महँगो छ भनेर। अझ, कुनै दिन बिरामी भइयो भने उपचारमा लाग्ने खर्च कसरी जुटाउनु ? युवा शक्तिलाई सरकारले हेर्छ भन्दाभन्दै कति वर्ष बित्यो। कुनै अफिसमा काम गरौं भने राम्रो तलब पाइँदैन। बिरालो चालमा नगरपालिकासँग डराइ–डराइ कसरी निर्वाह होला ? यसकारण पनि बिदेसिने दाउमा छु।
६ महिनाको कोर्स कोरियन भाषा सिक्दै छु। २५ हजार तिरेर। तीन महिना भयो पढ्न थालेको। त्यस्तो गाह्रो छैन। संसारमा भाषा नै त रहेछ, सबैभन्दा ठूलो हतियार। नजानु विदेश जाने भइसकेपछि अलि राम्रै योजना गरौं भन्ने हो तर थाहा छैन, कहिलेसम्ममा सफल भइन्छ।’ निश्चल भाषा बोले भाइले। सोधेको कुरा भन्न लजाएनन्, धकाएनन् अनि सर्माएनन् पनि। उनलाई सुन्दा लाग्यो, से–फोक्सुण्डो झरना हुन्। उनको आफ्नै लय, गति र ताल छ।
यो बेला सरकारले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ भनेर उधिन्न खोज्दा ‘मेरो कुरा बाँकी छैन तर हजुरले पनि देख्नु भा’कै छ, विदेश जानेको ताँती। उर्लेको खहरे झैं यो लहर आफैं बढेको होइन। देशमै अवसर हुँदो हो त ‘मदन’ बन्न कसलाई रहर हुन्थ्यो र हजुर ? मिडियाको मान्छे, कति देख्नु भा’ छ त्यही आधारमा लेख्नु भा’ होला। काम नगरी पाइँदैन माम तर गरिखाने ठाउँ नै नभए पछि कसरी बाँच्नु ? ढुंगा माटो खान मिल्दैन।
नवलपरासी घरमा आमा हुनुहुन्छ, वर्ष दिनमा आउने पर्वमा जननीलाई त भेट्नु प¥यो नि। त्यता सात जनाको जहान छ। बेला मौका खर्च पनि पठाउनु पर्छ। जग्गाको नाउँमा पाँच कट्ठा माटो, त्यो उब्जा दिने छन्दको छैन। म त्यसै सानैदेखि घर बाहिर बाहिरै भएको हो र ?’
देशको राजनीति अवस्था अस्थिर त छ नै। विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव नेपाल पनि अछुतो रहन सकेको छैन। श्रमजीविप्रति सरकारको कुनै योजना न नजर केही छैन। भित्री साँठगाँठको सीमा गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर ट्याक्सीमा राखेर सिनामंगल पु¥याइसकेको झन्डै एक क्विन्टल सुन विशेष सूचनाका आधारमा पक्राउ भो। यसको तथ्य अहिलेसम्म बाहिरिएको छैन।
वैदेशिक रोजगारीबाट फर्किएकालाई लाइनमा राखेर पर्स, बेल्ट, जुत्ता र लगाएका कपडाधरि खोलाएर नाङ्गेझार चेकजाँच गर्ने, एउटा टाँक बज्यो भने पनि खाउँला झैं गरी मनपरी बोलेर थर्काउने कर्मचारीहरूले त्यत्रो परिणामको सुन छिरेको किन देखेनन् ? अर्को, श्रमिकले अहोरात्र मिहिनेत गरेर आफू घर फर्किदां दुईटा मोबाइल बोकेर आएको देख्न नसक्ने पनि उही भन्सार कार्यालय नै होइन ?
फ्रान्सेली नागरिक कुख्यात अपराधी चाल्र्स शोभराजले कुनै बेला भनेका कुरा सम्झें– ‘नेपालको विमानस्थलबाट हात्ती छिराउन सकिन्छ।’ लाग्छ, उनले सार्वजनिक रूपमा बोलेको कुरा घामजस्तै छर्लंग भयो। यतिखेर मिडियातिर व्यापक हल्ला छ, ‘विमानस्थलबाट फर्काइँदै श्रमिक’। श्रम स्वीकृति लिएकालाई अध्यागमनले किन रोक्छ ? नेपाल भनेको पुँजीपति व्यवसायी मात्रैको देश हो ? उसो भए नेत्रप्रसादहरूको कुनै अस्तित्व छैन ? यदि छ भने सरकारले किन केही सोच्दैन ?