खानी नै खानी तर केही नगर्ने बानी
नेपालमा पानीमात्रै प्रशस्त छैन, सुन पनि छ । पानी पनि त्यसै बगेर बंगालको खाडी पुग्छ । बगेको पानी खेतबारी उकाल्ने व्यवस्था छैन । खेतबारी बाँझै हुन्छन् । नेपालका ठाउँठाउँमा नुनदेखि सुनखानीसम्म पत्ता लागेको छ । कुनै बेला हिमाली क्षेत्रको नुन नेपालीका भान्छामा हुन्थ्यो, अचेल आयातित हुन्छ । फलाम खानी र तामाखानी नेपालका थुप्रै गाउँको नाम पनि हो । किनभने त्यहाँ तामा र फलाम खानी थिए र छन् । परम्परागत सीपका आधारमा तामा निकालेर भाँडा बनाउने चलन जसै विस्थापित भयो ती खानीहरू त्यसै रहे । फलामको उत्खनन गरेर नेपालका गाउँघरमा बनाएका फलामे साङ्लाका पुल र साँघुहरू अझै चुँडिएका छैनन् । इतिहास जीवित छ ।
देशभर १ सय ५६ वटा खानीको उत्खननका लागि विभिन्न उद्योगलाई खानी तथा भूगर्भ विभागले हालसम्म इजाजत दिइसकेको छ । तर कुनैमा पनि उत्खनन भएको छैन । सम्भवतः सर्वाधिक उत्खनन गरिएको भनिएको चुनढुंगा खानी हुनुपर्छ, जसबाट सिमेन्ट उद्योगहरू चलेका छन् । होइन भने कोइला, फलाम, सिसा, काइनाइट, ग्रेनाइट, रातो क्लाई, टाल्क (माटो खनिज), डोलोमाइट, मार्बल, म्याग्नेसाइटलगायतका खानी बेकामे भएका छन् । नवलपुरको धौवादीमा भएको फलाम खानीमा मात्रै नेपाललाई ५० वर्षभन्दा बढीलाई पुग्ने फलाम रहेको पत्ता लागेको छ । त्यहाँ फलाम उद्योग खोल्ने प्रक्रिया पनि सरकारले सुरु गरेको हो, तर काम कछुवा गतिमा छ । त्यो प्रक्रिया राजनीतिक स्टन्टमा सीमित भएको छ ।
मुस्ताङको युरेनियमदेखि रोल्पाको सुन होस् या दैलेख र मोरङमा छ भनिएको पेट्रोलियम खानी, तिनको उत्खनन र प्रयोगका लागि ठूलो धनराशि लाग्छ । नेपाल आफैंले त्यहाँ उत्खनन, प्रशोधन र उद्योग चलाउने सामथ्र्य बनाउन कठिन पक्कै छ । त्यस्तोमा विदेशी लगानीकर्तासँग साझेदारी गर्न सकिन्छ । गर्नुपर्छ । तर प्राकृतिक स्रोतको विषयमा त्यस्तो प्रसंग आउँदा नेपालमा अनावश्यक राजनीतिमात्र हुँदैन, अन्धराष्ट्रवादले गिजोल्छ । पानी बगेर गइरहन दिने र खानीहरू त्यत्तिकै जमिनमुनि भइरहन दिने हो भने नेपालले तिनको उपयोग कहिले गर्ने ?
देश कसरी धनी बनाउने ? हो, विदेशी लगानीकर्ता र साझेदार भिœयाउँदा मुलुकलाई धेरै नाफा हुने र राष्ट्रिय अर्थतन्त्र उकास्ने सर्त भने जरुरी हुन्छ । जस्तो कि ठूलाठूला सुनखानी भएका अफ्रिकी मुलुकमा विदेशी लगानीकर्ताकै कारण फाइदा विदेशीलाई धेरै भएको छ, देश कंगालै छन् । तिनबाट शिक्षा लिएर बुद्धिमत्तापूर्ण तरिकाले हाम्रा खानीको मात्रै उपयोग गर्न सक्यौं भने देशमा आर्थिक समृद्धि पक्कै हासिल हुन्छ । तर आफूले पनि केही नगर्ने र विदेशीलाई पनि नपत्याउने खालको केही नगर्ने बानी कायमै रहे, गरिबी पनि कायमै ररिहन्छ ।