'नेपाली बजारमा भारतीय ट्रकलाई छुट दिनुपर्ने कारण के ?'
काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले उद्योगहरूलाई जोगाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पन्तले नयाँ उद्योग खोल्नुभन्दा भइरहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।
भारतबाट ढुवानीमा समस्या रहेको बताउँदै नेता पन्तले यस विषयमा सरकारले ध्यान दिन नसकेको आरोप लगाए। ढुवानीमा समस्या देखिनुको मुख्य कारण भारतीय ट्रकमाथि नियमन नगर्नु रहेको बताए। नेता पन्तले नेपाली बजारमा भारतीय ट्रकले छुट पाएजस्तै भारतीय बजारमा पनि नेपाली ट्रक व्यवसायीहरूले छुट पाउनुपर्ने बताए।
'जसरी भारतीय ट्रकहरूले नेपालमा छुट पाएका छन्। त्यस्तै छुट भारतबाट हामीले पाउनुपर्छ। हाम्रा ट्रकहरूले भारतमा निर्वाधरुपमा गएर सामान लैजान र ल्याउन पाउनुपर्छ। यदि त्यो अधिकार नेपाली व्यवसायीहरूले पाउँदैन भने भारतीय ट्रकलाई छुट दिनुपर्ने कारण के? सरकारले यसको जवाफ दिनुपर्छ। यसलाई रोक्नुपर्छ,'उनले भने,' नेपालको ट्रान्सपोटेसन उद्योगलाई जर्गेर्ना गर्नुपर्छ।'
उनले राष्ट्रिय उद्योगमा समस्या खडा हुने अवस्था सृजना भएको भन्दै यस विषयमा सम्बन्धित मन्त्रालयले भारतीय अधिकारीहरूसँग वार्ता गरेर सुल्झाउनु पर्ने सुझाव दिए। एक तथ्यांकका अनुसार वार्षिक १० लाख भारतीय गाडी भित्रिनेमा ३ लाख ७० हजार मालवहाक सवारी साधन भित्रिने गरेको उनले भनाइ छ।