गुल्मीमा दुई दिनमा तीनजना मृत्यु
गुल्मी : गुल्मीमा दुई दिनको अन्तरालमा छुट्ट–छुट्टै प्रकृतिका घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका –२ निवासी १२ वर्षका प्रिन्स सारु बडीगाड खोलामा मृत फेला परेका हुन् ।
बडिगाड खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालक शनिबार दिउँसो बडीगाड खोलाको सोता भन्ने स्थानमा पौडीखेल्ने क्रममा बेपत्ता भएका थिए । वेपत्ता बालकलाई प्रहरी र स्थानीयले आइतबार बिहान खोज्ने क्रममा शव फेला पारेको प्रहरीले जनाएको छ । पौडी खेलेकै स्थानमा फेला परेका बालकको शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याईएको छ ।
त्यस्तै जिल्लाको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ । उनी शनिबार दिउँसो घरबाट हिँडेका थिए । बेलुकासम्म सम्पर्कमा नआएपछि खोज तलास गर्ने क्रममा आइतबार बिहान सोहि गाउँपालिकाका –५ को हंसरा स्थित रुम्दाखोल्सामा घोप्टो अबस्थामा शव फेला परेको थियो ।
मृतक भण्डारीले अत्यधिक मदिरा सेवन गर्ने बानी रहेको प्रहरीले जनाएको छ । मृतक भण्डारी बिगत लामो समयदेखि आफना दाजुसँगै बस्दैआएका थिए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ । मृतकको श्रीमती (२ छोरी, १ छोरासहित) माइतीघर चितवनमा बस्ने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए ।
त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका–४ का २१ वर्षीय सन्दिप कुमालको खोलामा डुबेर मृत्यु भएको छ । उनी शुक्रबार दिउँसो वडिगाड खोलामा माछा मार्नको लागि जाल हान्नेक्रममा अचानक खोलामा डुवेका थिए । उनलाई १५ वर्षीय पवन कुमालले स्थानीयलाई खबर गरेर उद्धार गरेका थिए ।
अचेत अवस्थामा रहेका कुमाललाई उपचारको लागि लुम्बिनी प्रभास हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।