रुस जान श्रम स्वीकृति दिएकोमा आपत्ति
रुसी सेनामा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको भन्दै आपत्ती जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै पौडेलले अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ती जनाएका हुन् ।
मानवतस्करलाई अनुकूल हुनेगरी श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उनको आरोप छ। उनले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समूदायसँग आग्रह गर्न सुझाव दिए ।
रुसी सेनामा रहेका नेपालीको संख्यामा बारेमा पनि सरकार वेखबर रहेको उनले बताए। नेता पौडेलले मृत्यु भएका नेपालीहरूका आफन्तको डीएनए परीक्षण गर्ने नाममा थप पीडा दिने काम भएको समेत बताए।
पौडेलले नागरिकहरू पीडामा हुँदा परराष्ट्रमन्त्री देशमा नबस्ने र रुसमा रहेका नेपालीका विषयमा वेखबर हुन नमिल्ने भन्दै सरकारको ध्यान जान जरुरी रहेको धारणा व्यक्त गरे।