शासकीय स्वरुप र निर्वाचन प्रणाली नबदलेसम्म समाजवाद आउँदैन : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन्। समाजवादी मोर्चाको बृहत् अन्तर्क्रियामा बोल्दै अध्यक्ष यादवले संविधान संशोधन गर्नुपर्ने मागसमेत गरे।
'अहिलेको संविधानमा समाजवाद उन्मुख लेखिए पनि संवैधानिक व्यवस्था समाजवादको बाधक बनेको छ। यसलाई संशोधन गर्नुपर्छ। शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्छ,' उनले भने।
उनले अहिलेको संघीयता पनि अपांग भएको बताए। संघीयतालाई सपांग बनाउन संविधान संशोधन अपरिहार्य रहेको उनको भनाइ छ। 'लोकतन्त्रलाई समावेशी र समानुपातिक लोकतन्त्रमा परिवर्तन गर्नुपर्छ। संविधानमा उन्मुख लेखेरमात्र समाजवाद आउँदैन,' उनले भने, 'अहिले सांसद बन्न निर्वाचनमा करोडौं खर्च गर्नुपर्ने अवस्था छ। त्यसका लागि निर्वाचन प्रणाली बदल्नुपर्छ। सासकीय स्वरुप बदलेर समाजवादको परिभाषा बदल्न जरुरी छ।'
उनले विद्यमान जातिवादी र परिवाद पनि समाजवादको बाधक भएको बताए। उनले अहिलेको अनियन्त्रित बजारलाई नियन्त्र नगरेसम्म समाजवाद नआउने बताए।