अरुण नदीको फेरी बिग्रिएपछि चरम सास्ती
भोजपुर : भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको मोटरेबल फेरीमा प्राविधिक समस्या आएपछि उत्तरी क्षेत्रका नागरिकलाई सास्ती परेको छ। विगत केही साताअघि षडानन्द नगरपालिका र खाँदबारी जोड्ने एक मात्र वैकल्पिक माध्यम बनेको उक्त मोटरेबल फेरीको तारमा क्षति पुगेपछि यात्रुलाई आवतजावतमा समस्या भएको हो।
वर्षौंअघि ठेकेदार कम्पनीले अलपत्र पारेको लम्छुवाघाटको पुल नबन्दा सास्ती खेपिरहेका उत्तरी क्षेत्रका नागरिकलाई फेरी बिग्रिएपछि झन् हैरानी थपिएको छ। फेरी बिग्रिएपछि यात्रु, दर्जनौं यात्रुबाहक, मालबाहक सवारीसाधनहरू अलपत्र बनेका छन्। फेरी नबनेसम्म नदी वारपार गर्न नसकिने स्थानीय सवारीचालक नविन कार्कीले बताए। उनले भने, ‘फेरी कहिले बन्ने कुनै छाँटकाँट देखिन्न। यात्रुलाई बीचमै ओराल्नुपर्यो। व्यावसाय नै चलाउन गाह्रो हुने भो।’
दैनिक ५० भन्दा बढी यात्रु र मालसामान बोक्ने सवारीसाधनलाई फेरीबाटै नदी तारिने गरिएको छ। तर, फेरीमा समस्या आएपछि थप मर्कामा परेको विराटनगर जाँदै गरेका साल्पासिलिछो गाउँपालिका–४ खाटम्माका बमप्रसाद राईले बताए। ‘विराटनगर जाने भनेर हिँडेको अलपत्र परियो, अब झोलुंगे पुल तर्न डेढ घण्टा हिँड्नुपर्छ। गाडी पनि भेटिन गाह्रो छ’, उनले भने।
मोटरेबल फेरीको १९ एमएमको ६ वटा तार (लठ्ठा) बिग्रिएका कारण फेरी सञ्चालनमा समस्या भएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईँले बताए। फेरी सञ्चालनका लागि नगरपालिकाले तत्काल काठमाडौंबाट सामान खरिद गर्ने र दक्ष प्राविधिक झिकाएको प्रमुख प्रशासकीय चापागाईंले जानकारी दिए। ‘आवश्यक सामान खरिद प्रक्रिया सुरु गरिसकिएको छ। फेरी चलाउने तार महँगो र बाहिरबाट मगाउनुपर्ने भएकाले फेरी चल्न केही सप्ताह लाग्न सक्छ’, उनले भने, ‘हामीले कोटेसनमार्फत सामान झिकाएर छिटोभन्दा छिटो फेरी सञ्चालनमा ल्याउन भरपुर प्रयास गरिरहेका छौं।’
लम्छुवाघाटको पुल निर्माण हुन नसक्दा जोखिम मोलेरै नदी तर्नुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन। लम्छुवाघाटको पुल नहुँदा स्थानीयले कष्टकर पैदल हिँडेरै नदि वारपार गर्ने गरेका छन्। यस्तै नदीका केही क्षेत्रका स्थानीय नाउँबाटै नदी वारपार गर्नुपर्ने पनि बाध्यतामा छन्। हिउँद होस् या वर्षा, भोजपुरको उत्तरी भेगका बासिन्दालाई अरुण नदी तर्न समस्या छ। पुल नहुँदा अत्यावश्यक सामान लिन १५ किलोमिटर घुमाउरो बाटो हिँड्नुपर्ने र नाउँको भरमा नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय रुद्रबहादुर मगरले बताए। ‘घण्टौं कष्टकर पैदल हिँडेर होस् या नाउँ चढेर जोखिमपूर्ण यात्रा गर्नैपर्छ। नत्र नदी पार गरिन्न, कामै हुन्न, यो हाम्रो रहर हैन, बाध्यता हो’, उनले सुनाए।
तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले ०६७ सालमा पुल शिलान्यास गरेका थिए। तर, ठेकेदारको लापरबाहीले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकालगायत उत्तरी भेगका ७० हजारभन्दा बढी जनसंख्या कष्टकर यात्रा गर्न बाध्य छन्। षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले पुल निर्माणमा ठेकेदार कम्पनीको लापारबाहीका कारण नागरिकले सास्ती खेप्नु परिरहेको बताए। मेयर उदासले भने, ‘हाम्रो क्षेत्रको विकासको मूलढोका भएको लम्छुवाको पुल निर्माणमा निर्माण व्यवसायीबाटै लापरबाही भयो, जसले जनता कष्टकर यात्रा गर्न बाध्य छन्।’
लम्छुवाघाटको पक्की पुल निर्माण पुनः अलपत्र पार्ने ठेकेदार कम्पनीले काम नगरेपछि गत २०७९ पुसमा सडक डिभिजन कार्यालय तुम्लिङटारले पुलको ठेक्का तोडेको थियो। डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपेन्द्रकुमार शाहका अनुसार २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्माण कार्य सुरु गरे पनि विभिन्न बहनामा काम अलपत्र पारेको थियो। १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको उक्त पक्की पुलको निर्माणमा ४ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।