रेशम र रञ्जिताबीच 'लडाइँ' को मारमा प्रदेशसभा सदस्य, राज्यमन्त्री इन्दिरा गिरि कारवाहीमा
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारवाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् ।
पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टिकरण सोध्दा पनि जवाफ नदिएपछि हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो ।
लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर, कसैले पनि अध्यक्ष रञ्जीताले दिएको निर्देशन मानेका थिएनन । नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् ।
रञ्जिता पक्षका मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए । श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरूलाई भने कारवाही गरेकी छैनन् । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन् ।
बिहीबारका लागि मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन संसद बोलाइ दिन माग गरेका छन् । बिहीबार उनका लागि विश्वासको मत दिने अन्तिम दिन हो । फागुनको २३ गते नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फितार्ए लिएपछि उनी अल्पमतमा परेका थिए ।
गिरिको कारवाहीसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना सकिएको छ । उनले भोलि आफ्ना (कांग्रेस) १८, उन्मुक्तिका पुरै पाएमा ६, राप्रपा र स्वतन्त्रले दिए पनि २६ जनाको समर्थन पाउनेछन् । बहुमतका लागि भने २७ जना आवश्वयक छन्।