उपनिर्वाचन : इलाम -२ का आकांक्षीसँग कांग्रेसका शीर्ष नेताको छलफल
काठमाडौं : नेपाली कांग्रेसमा उम्मेदवारको विषयलाई लिएर विवाद भएपछि आकांक्षीसँग शीर्ष नेताले छलफल गरेका छन्। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा अहिले उम्मेदवारका आकांक्षीबीच छलफल जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मंगलबार र बुधबार बसेको बैठकमा संस्थापन पक्ष र इत्तरपक्षबीचको अडान कायम रहँदा कांग्रेसले उम्मेदवार चयन गर्न भने सकेको छैन।
बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। महामन्त्री गगन थापा समूहका तर्फबाट भेषराज आचार्यलाई उम्मेदवारी बनाउनुपर्ने अडान रहेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन,चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। आकांक्षी धेरै भएपनि मुख्य प्रतिस्पर्धा खड्का र आचार्य रहेका छन्। खड्का यस अगाडि नेम्वाङसँग हारेका थिए।
उनीहरुबीच छलफल गरेपछि आज दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने पौडेलले जानकारी दिए। आगामी वैशाख १५ गते प्रतिनिधिसभामा इलाम- २ र प्रदेशसभामा बझाङ- १ मा उपनिर्वाचन हुँदैछ।
इलाम- २ मा नेकपा एमालेले स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माओवादी परित्याग गरेका मिलन लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइसकेको छ। एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने गरी औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएपनि आन्तरिक सर्कूलर जारी भएको छ। माओवादीको इलाम जिल्ला कमिटीले उम्मेदवारका रूपमा धिरेन शर्माको नाम केन्द्रमा सिफारिस गरेको थियो।
एमालेले बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।