बाँझोपनाको उपचार

बाँझोपनाको उपचार

१५ देखि ४५ वर्षको महिलाको उमेरलाई प्रजनन उमेर मानिन्छ। तर पनि महिलाको प्रजनन क्षमता ३५ वर्षपछि क्रमशः घट्दै जान्छ। तर पुरुषको क्षमता भने बढी उमेरसम्म रहिरहन्छ। 

गर्भनिरोधक साधनबिना नियमित यौन सम्बन्ध हुँदा पनि एक वर्ष वा बढीसम्म गर्भ नरहनुलाई बाँझोपना भनिन्छ। पुरुषहरूमा नयाँ शुक्रकीट बनिरहेको हुन्छ भने महिलाहरूको डिम्बाशयमा भएका डिम्बहरू निश्चित संख्यामा हुने भएकोले उमेर बढ्दै जाँदा डिम्बको संख्या घट्दै जान्छ। त्यसैले महिलाहरूको उमेर बढी भएमा बाँझोपनको उपचार छिट्टै सुरु गरिन्छ। कहिल्यै गर्भ नबसेको र पहिले गर्भ बसी लामो समयसम्म अर्को गर्भ नबसेको गरी बाँझोपना दुई किसिमका हुन्छन्। पहिले गर्भ बसेर पनि गर्भपतन भएको वा जीवित बच्चा नभएकोलाई बाँझोपना भएजस्तै किसिमले उपचार सेवा दिइन्छ। तर जीवित बच्चा नहुनुको कारणहरूको निदान पहिलो उद्देश्य हुन्छ।

बाँझोपन महिला वा पुरुषको प्रजनन अंगको समस्याले हुन सक्छ। प्रजनन उमेरका करिब ६ जनामा १ जनामा हुने यो समस्याको कारण एकतिहाइ महिलामा, एकतिहाइ दुवैै जनामा हुन सक्छ। करिब १० प्रतिशत पुरुषमा मात्र हुन सक्छ भने २० प्रतिशत जतिको कारण थाहा नहुन पनि सक्छ। पुरुषमा वीर्य निस्कन समस्या हुनु या शुक्रकीटमा कमी वा रोगी शुत्र कीट हुनु र महिलामा प्रजनन अंगको वा प्रजनन ग्रन्थीरस (हर्मोन)को समस्या हुन सक्छ। त्यसैले निदानको सुरुवात पुरुषको वीर्य परीक्षणबाट गरिन्छ। र परिणाम सामान्य नभएको खण्डमा यौनाङको वा पुरुष ग्रन्थीरस (हर्मोन) को परीक्षण गर्नु पर्ने हुन्छ। पुरुषको परीक्षण आवश्यक नपरेमा महिलाको परीक्षण गरिन्छ। 

सामान्यतः महिलाको प्रजनन अंगको क्लिनिकल र अल्ट्रासाउन्ड जाँच गरेपछि प्रजनन नली तथा प्रजनन मार्ग (रिप्रोड किटभ ट्र्याक्ट) को अवस्थासमेत जाँच गरिन्छ। जसमा हिस्टेरोसालिपंगोग्राफी, हिस्टेरोस्कोपी या ल्यापारोस्कोपी प्रविधिको प्रयोग गरिन्छ। यसले पाठेघर (हिसटेरो) र डिम्बबाहिनी नली (साल्पिंगो) भित्रको र पाठेघर बाहिर (ल्यापारोस्कोपी) बाट डिम्बाशयसमेतको अवस्था देखाउँछ। धेरैजसो महिलामा डिम्बाशयबाट डिम्ब निष्कासनमा २५ प्रतिशत, डिम्बबाहिनी नलीमा २५ प्रतिशत  र पाठेघर तथा तल्लो पेटभित्र (जन्मजात असर, ऐंजेरु पलाउने, इन्ड्रोमेट्रियोसिस, पेल्भिक एडहेजन) हुने समस्याहरू प्रमुख कारक हुन्छन्। साढे ४ देखि ५ हजारमा १ जनाको पाठेघर वा योनिमार्ग नै नभएको जन्मजात समस्या हुन सक्छ। महिनावारीको गडबडी भए त्यसलाई नियमित गराउनुपर्छ। डिम्बाशयबाट डिम्ब निष्कासनको समस्याका कारक डिम्बाशय (एस्ट्रोजन, प्रोजेस्टेरोन, एन्टिमुलेरियन, एन्ड्रोजन), मस्तिष्क (प्रोल्या किटन, फोलिकुलर र लुटिनाइजिङ तथा थाइरोइडका ग्रन्थी रसको असन्तुलन पनि हुन सक्ने भएकोले यसको लागि प्रत्येक कारणहरूको निदान र उपचार सेवा उपलब्ध हुनु आवश्यक छ। पाठघरको अस्वस्थताका विभिन्न कारणहरूको उपचार आवश्यक पर्दछ। यौनरोग तथा संक्रमणको उपयुक्त उपचारले बाँझोपनको धेरै रोकथाम गर्न सक्छ। धूमपान र मद्यपानजस्ता कुलत छोड्नुपर्छ। र शरीरको वजनलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ। विभिन्न प्रजनन ग्रन्थीरस (हर्मोन)को परीक्षण गरी डिम्बाशयबाट डिम्ब निष्कासनमा हुने समस्याको निदानसमेत गर्नुपर्ने हुन्छ। डिम्ब निष्कासनमा सहयोग पु¥याउने र डिम्बलाई स्वस्थ्य र सक्रिय राख्ने औषधिहरूको प्रयोग गर्नुपर्ने अवस्थासमेत हुन्छ। 

बाँझोपनको उपचार गर्दा मानसिक तथा यौन स्वास्थ्यको पनि परामर्श आवश्यक पर्छ। यौन स्वास्थ्यमा स्वस्थ यौनक्रिया र यसको नियमिततासमेत पर्दछ। शल्यक्रिया, चोटपटक साथै डिम्बाशय वा अण्डाशयमा परेका असरहरूको उपचार गर्न सम्भव नभएमा र सामान्य तवरले उपचार हुन नसक्ने अवस्थामा भने महँगो किसिमको कृत्रिम प्रजनन प्रविधिको सहारा लिनुपर्ने हुन्छ। 

हाल विशेषज्ञसहितका सेवा केन्द्रहरूमा निदानका धेरै परीक्षणहरू उपलब्ध भए पनि पूर्ण भने केही केन्द्र वा अस्पतालमा मात्रै पाइन्छ। बाँझोपनको निदान तथा उपचारको विधि पनि व्यक्तिको आवश्यकताअनुसार चरणबद्ध गर्ने गरिन्छ। जसमा सामान्य परीक्षणदेखि जटिल परीक्षणसमेत चाहिन सक्छ। धेरैजसोलाई सामान्य परीक्षण र उपचारमात्रै पनि पर्याप्त हुन्छ। यसरी पहिचान हुन सक्ने समस्याहरूको उपचार गर्ने हो भने बाँझोपनको धेरै समस्या समाधान गर्न सकिन्छ।

 (वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बराल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.