सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
धनगढी : संसदमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन्। बिहीबार बेलुकी साढे ६ बजेतिर मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँको निवासमै पुगेर राजीनामा बुझाएका हुन्।
यसअघि उनले विश्वासको मत लिने भन्दै प्रदेश सभाको बैठक बोलाईएको थियो। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बेलुकी ५ बजेसम्मका लागि स्थगित गरिएको थियो। बेलुकीसम्म पनि नागरिक उन्मुक्तिका २ जना र स्वतन्त्र सांसद काठमाण्डौंबाट नआएको थाहा पाएपछि मुख्यमन्त्री शाहले विश्वासको मत नपाने भन्दै राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद थियो। रेशम पक्षका ४ जना मुख्यमन्त्रीको पक्षमा देखिएका थिए भने २ जना पार्टी अध्यक्ष रञ्जीताको पक्षमा देखिएका थिए। रञ्जिता पक्षका दुई जना प्रदेश सभा सदस्य विहीबार राजधानीमै थिए।
दिउँसो उनीहरूले पार्टी अध्यक्ष रञ्जिता चौधरी र स्वतन्त्र सांसद सँगै भएको तस्बिर सार्वजनिक गरेका थिए। ‘राजनीतिक गठबन्धन फेरबदल भएकाले मैले राजीनामा पेश गरेको छु’ प्रदेश प्रमुख समक्ष राजीनामा दिँदै मुख्यमन्त्री शाहले भने।