घोडेजात्रामा अश्वकला
यसपालिको घोडेजात्रा पर्व चैत्र २६ गते सोमबार परेको छ। उक्त दिन नबोली नुहाएमा धेरै पुण्य कमाउने सकिने सोमबारे औंसी पनि यसै दिन परेको छ। हरेक वर्ष चैत्रकृष्ण औंसीमा पर्ने यो विशेष पर्वलाई अश्वकला प्रदर्शन वा घोडादौड प्रतियोगिताका रूपमा लिइन्छ। नेपाली सेनाले राजधानी टुँडिखेलमा मनाउने यो एक किसिमको राष्ट्रिय उत्सव नै हो।
राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत धेरैको उपस्थितिमा हुने यो जात्रा हेर्न टाढाटाढाबाट समेत दर्शकको ठूलै उपस्थिति हुने गरेको छ। घोडेजात्रा पर्व पनि विशेष पर्व हो, यस्तो उत्सव विश्वका अन्य मुलुकमा पाइँदैन। यहाँको परम्परागत संस्कृति अनौठो छ हाम्रो। काठमाडौंमा मनाइने घोडेजात्राको अघिल्लो दिन चैत्र कृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशी भनिन्छ। फागु पर्वको समापनपछि चैत्रकृष्ण अष्टमीका दिन पशुपति क्षेत्रबाट एक शिवलिंग ल्याई काठमाडौंको ब्रह्मटोलको बुद्ध बिहारमा राखी ‘लुकुमाद्यो’ अर्थात् नेवारी परम्पराअनुसार लुकेका देवता भनी पिशाच चतुर्दशीमा स्नान गराई तामसी खाना खुवाउने गरिन्छ। यस दिन शिवगण प्रेत, पिशाचलाई पूजाआजा गरेमा देशैभरि रोग,व्याधि, कष्ट, हैरानी व्यहोर्नु नपर्ने भनाइ छ।
काठमाडौं नक्साल भगवती, पशुपतिको वत्सला, जयबागेश्वरी र चाबहिल गणेशस्थानमा विशेषजात्रा मनाइने पिशाच चतुर्दशीका दिन काठमाडौंका पुराना नेवारहरूले ‘पाशाचह्रे’ पर्व मनाउने गर्छन्। प्रत्येक टोल, बस्तीमा महादेव लुकेर बसेका छन् भनी घरआँगन सफा सुग्घर गरी टोल सुरक्षार्थ रहेका क्षेत्रपाल स्वरूप शिवको आराधना गर्छन्। सर्वेश्वर शिव त अग्निस्वरूप हुँदै हुन्, आगोमा जे जुन वस्तु हाले पनि जल्छ, पच्छ। एकपटक शिव परिवारमा ठाकठुक परेछ, अर्धांगिनी पार्वती रिसाइछन् र उनले भोले बाबालाई ‘तिमीले मांशाहार गर’ भनिछन्। भोलेबाबाले पनि पिशाचको रूप लिएर मांसाहार गर्न थालेछन्, त्यही सम्झनास्वरूप यस दिनलाई पिशाच चर्तुदशी भनिन थालियो।
काठमाडौं क्षेत्रमा धेरै देवदेवी छन्, असंख्य मूर्ति पनि। नक्साल भगवती र जय बागेश्वरी देवीलाई दिदीबहिनीको रूपमा लिइन्छ। चैत्र मासमा यहाँ विशेषजात्रा हुने गर्छ। प्राचीन इतिहासअनुसार काठमाडौंकै नरदेवी, म्हैैपी, भद्रकाली, असनकी देवी, संकटा आदि पनि एकै सन्तति हुन्। एकै सन्तानमध्ये काठमाडौंकै लुतेदेवी र उनको परिवार गरिब रहेछ पहिले। दिदीबहिनीले भोज भतेर गर्ने, मीठा, रसिला खाना खाने, खुवाउने, राम्रो गर्ने तर लुतेदेवी भने गरिबीका कारण यसो गर्न नसकेकोमा चिन्तित भइछन्, एकपटक। अपमानसमेत खेपेकी लुतेदेवीले एक दिन आफ्नो खानेकुरामा सर्प देखिन्छन् र विषालु खाना सबै फाल्न लाग्दा खाना फालेको ठाउँ वरिपरि सबै ठाउँ सुनैसुनको भएछ र त्यही सुनका कारण अरू सरह आपूm पनि धनाढ्य भइछन्।
उता दिदीबहिनीहरूले पालैपालो तडकभडक देखाउँदै गरेछन्, देखासिकीकै कारण लुतेदेवीले पनि आफ्नो छुट्टै जात्रा चलाउन थालिछन्। यसै क्रममा आएको हो पशुपतिको अर्को पर्व बाला चतुर्दशी धानले धनी हुने महिना मंसिर कृष्ण चतुर्दशी। यसै क्रममा काठमाडौंमा थपिएको हो चैत्र कृष्ण चतुर्दशीमा मनाइने भनौं पाशाचह्रे पर्व।
यस्तै पर्वमा परेको हो घोडेजात्रा पनि। सरकारी स्तरबाटै मानिने, घोडेजात्रा कहीँ अन्यत्र नभएको जात्रा हो। यो जात्रा देखाएरै काठमाडौंको टुँडिखेलसँगै, नजिकै रहेकी भद्रकालीलाई खुसी गराउने चलन छ। हनुमानढोका परिसर वसन्तपुरको कुमारी घरबाट जीवितदेवी स्वरूप कुमारीलाई घोडचढीसहित बग्गीमा राखी टुँडिखेल ल्याइन्छ। उनै देवीलाई सम्मानका साथ सेनाद्वारा सलामी चढाइन्छ र घोडा दौड प्रदर्शनी सुरु गरिन्छ। अश्वकलाको प्रदर्शनी भनौं घोडेजात्रा नेपाली सेनाद्वारा गराइने प्रचलन हो। घोडेजात्राको चलन चलेपछि काठमाडौंका राजाले भद्रकालीमा चैत्र कृष्णऔंसीका दिन बिहानै दर्शन गर्ने परम्परा बसेको हो।
पहिलेका राजा, महाराजा त्यतिबेला भद्रकालीको दर्शन गर्न जाँदा घोडामा जाने गर्थे। यस्तैमा एक पटक यहाँका प्रधानमन्त्री विदेश गएछन्। विदेशमा अश्वकला अर्थात् घोडादौड देखेछन्। फर्केर प्रधानमन्त्री जुद्धशमशेरले यहाँ घोडेजात्रा सुरु गराएछन्, त्यही हो परम्परा अहिले धानिँदैछ। त्यतिबेला काठमाडौं वरपर टँुडी नामको राक्षसले दुःख दिने गथ्र्यो, अबोध साना बालबालिका खाइदिने, उसको राक्षसी शैलीले जनता वाक्कदिक्क भए। सबै मानिस मिलेर टुँडीलाई समाती चौरमा खाल्डो खनी जिउँदै गाडे। यसरी हालको खुल्ला स्थानलाई टुँडिखेल नामकरण गरियो।
टुँडी नामको राक्षसबाट फेरि कसैलाई अनिष्ट नहोस् भनी त्यहाँ सैन्य बल प्रदर्शन, घोडचढी प्रतियोगिता गर्ने गरियो। देश त दैव भूमि हुँदै हो, केही सय वर्षअघिसम्म पनि यहाँका शासकहरू देवदेवीसँग सीधै वार्ता गर्न सक्थे भनिन्छ। कृष्णयात्रा, गोरखकाली, मनकामना, गोरखनाथ, मत्स्येन्द्रनाथ, बज्रयोगिनी, खड्गयोगिनीको उपासना अझै भइरहेकै देखिन्छ। शास्त्रीय भनाइमा कुनै रथयात्रा, अश्वयात्रा, गजयात्रा, गो यात्रा गरेको यस्तो ठाउँ सदाका लागि पवित्र हुन्छ। कोहीकतैबाट पीडा हुँदैन भन्ने मान्यता छ। त्यसैले पनि वर्षमा एकपटक काठमाडौंको केन्द्र टुँडिखेलमा अश्वयात्रा गरेपछि कुनै अनिष्ट नहुने भन्ने मान्यता छ।
अर्को प्रसंग छ : अघि भारतको कामरु कामाक्षबाट काठमाडौंका शाश्वतबज्र नामका तान्त्रिकले तन्त्र साधनाबाट त्यहाँकी भद्रकालीलाई काठमाडौंसम्म ल्याए। ल्याउने क्रममा केहीबेर भद्रकालीलाई उनले हालको जमल नजिक बाटैमा राखे। शौच गर्न गएका तिनीबाट देवी रिसाइन्, जमिनमा त्यसै राख्नु नहुने भनेर। देवीलाई उठाउन खोजियो, तर सकिएन र देवीले भनिन्, ‘यो ठाउँबाट फेरि आफू अन्यत्र नसर्ने।’ शाश्वतबज्रको धोको पूरा भएन, उनको इच्छा पूरा हुने नदेखेर उनले भद्रकालीलाई अनुनय विनय गरेर भने कि ‘हे देवी मैले अन्यत्र कतै नचलाइएको मौलिक जात्रा घोडेजात्रा यहाँ चलाइदिन्छु। केही पर खालि स्थानमा तिम्रो मूर्ति सजाउँछु, कृपया यहाँबाट उठिदेऊ न।’
यसरी देवीलाई फकाए उनले र फकाएर भद्रकालीलाई जमलबाट उठाई टुँडिखेल आडैमा जहाँ हालको मन्दिर परिसर छ, त्यहाँ राखे। र वर्षमा एक दिन घोडेजात्रा चलाउने चलन त्यसै बेलादेखि चलेकोे जनश्रुति छ। एकपटक चलन चलेपछि त्यसलाई सहजै तोड्न सकिन्न पनि। यस्ता पर्वविशेष काठमाडौं उपत्यकामा धेरै छन् र उपत्यका बाहिर पनि छन् विभिन्न। माथि वर्णित काठमाडौंको ओमबहालमा लुकुवा महादेवको मूर्ति अहिले पनि देख्न सकिन्छ। एक वर्षसम्म जमिनमुनि रहने यी देवतालाई घोडेजात्राको अघिल्लो दिन पूजा दर्शन गरी साना महादेव भनेर स्तुति पुकार गर्ने चलन छ। काठमाडौंको उपत्यकाको संस्कृति भिन्न प्रकारको छ, अनौठो छ। विश्वमै अनौठो यस्तो पर्व मेला भर्न, हेर्न विदेशीहरूसमेत उपस्थित भएको पाइन्छ।