पूर्णकालीन व्यापारका विषयमा छलफल, मदिरा सेवनबाट अचेत भएका सेवाग्राहीलाई सुरक्षित घर पुर्याउनुपर्ने
काठमाडौं : गृहमन्त्री रवि लामिछानेले आवश्यक तयारी पूरा नभएसम्म हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय नगरिने बताएका छन्।
पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनबारे शुक्रबार मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै लामिछानले काठमाडौंमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत रहेपनि त्यसको विपक्षमा रहेकाहरूको समस्या समाधान र आवश्यक तयारी नगरेसम्म यसबारे कुनै निर्णय नगरिने बताए।
पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्न धेरै पक्ष सहमत भएको अवस्थामा पनि थोरै असन्तुष्टलाई पेलेर जाने अवस्थामा आफू नरहेको उनको भनाइ छ। उनले पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन भएपछि गृह प्रशासन २४सै घण्टा अलर्ट रहने बताए। उनले कसैको निन्द्रा र कसैको व्यापार पनि नबिग्रने गरी तयारी पूरा गरेर पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गरिने बताए।
सहर २४ घण्टा खुले सुरक्षा, लाइसेन्स, नीति नियम लगायतको मापदण्ड पनि हुने र कडारूपमा कार्यान्वयन पनि हुने उनले बताए। लामिछाने लागू औषधको नियन्त्रणका लागि गृह प्रशासन निर्मम ढंगले लाग्ने पनि बताए। पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनका लागि तयार पारिएको कार्यविधिका बारेमा मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो।
कार्यविधिमा १८ वर्षभन्दा मुनिका व्यक्तिहरूलाई प्रवेशमा रोक लगाउने, मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई सुरक्षित तवरले घरसम्म पुर्याउने वा राख्ने व्यवस्था गर्नुपर्ने, यौन तथा यौन उत्पीडन/शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्नेलगायत उल्लेख छ।