सकारात्मक सोच, सक्रिय जीवनशैली र स्वस्थ खानपान नै दीर्घायुको राज हो डा. सरस्वती पाध्येको।
कपाल सेताम्मे फुलेको छ। सोच सकारात्मक छ। कुनै जटिल रोग छैन। बेलाबेला मुस्काउँछिन्। उनी हुन्, ८५ वर्षीय प्रा.डा. सरस्वती
यी डाक्टरकी गुरुआमा ‘आउडेटेड’ होइन ‘अपडेटेड’ छन्। शिष्यहरूसँगै बिरामी जाँच्छिन्। शल्यक्रिया गर्छिन्। जीवनको उत्तरार्धमा रानीमाहुरी झैं बनेकी छन्। कुनै सेमिनार वा सार्वजनिक कार्यक्रममा पुगिन् भने क्षणभरमै महिला वरिपरि झुम्मिहाल्छन्। ‘डा. साब ! तपार्इं त मेरो गुरुआमा’ डा. पाध्येले ठम्याउन नपाउँदै अर्कीले सुनाइहाल्छिन्, ‘डा. साब तपाईंले त हो नि मेरो अप्रेसन गरेको।’
डा. पाध्येले कतिजनालाई चिकित्सा शिक्षा पढाइन् र कतिको उपचार एवं शल्यक्रिया गरिन् त्यो बेहिसाब छ। अरूले गुन सम्झँदा उनी पुलकित हुन्छिन्। कर्मप्रति धन्य महसुस गर्छिन्। ‘बुढ्यौली बेला विगत सम्झँदा गौरवान्वित महसुस हुँदोरहेछ’, उनी मुस्कुराउँदै भन्छिन्, ‘जीवनमा मरिलानु के छ र ? आखिर सम्झना न हो।’
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ पाध्येको डाक्टरी लाइसेन्स नम्बर हो, १ सय ७१। प्रसूति एवं स्त्री रोगका चिकित्सकमाझ उनी अनुभवी अभिभावक हुन्। अहिले पनि निजी अस्पतालको बहिरंग विभागमा बस्छिन्। शल्यक्रिया गर्छिन्। एकेडेमिक कक्षाहरूमा डाक्टरहरूलाई मार्गदर्शन गर्छिन्। हालै उनले अविवाहित युवतीको पाठेघरमा रहेको ट्युमर निकालिन्।
‘ट्युमर निस्किहाल्यो। अब बिहे गरेपछि बच्चा पनि सिजरिएन गरेरै निकालदिन्छु’, पाध्येको ठट्यौली सुनेर ती महिलाको पीडा दूर भयो। भविष्य सम्झेर मुस्काइन्। अहिले उनी भ्याली अस्पतालमा निर्देशकका रूपमा कार्यरत छन्। सरकारी सेवाबाट रिटायर्ड (अवकाश) पाए पनि टायर्ड (थकित) महसुस गरेकी छैनन्। ‘सात÷आठ महिना जति भयो। व्यस्त नै छु’ पाध्यले सुनाइन्, ‘दुई÷तीन घण्टा अस्पतालमा समय दिएकी छु।’ उनको अस्पतालमा भूमिका अस्पतालमा उपचार÷परामर्शदेखि व्यवस्थापकीय पक्षसम्मको छ। दिउँसो करिब १ बजेसम्म उनी अस्पतालमै व्यस्त हुन्छिन्। ‘अस्पतालबाट घर गएर एक घण्टा सुत्दिन्छु’, मनमौजी जीवनशैली रहेको सुनाउँदै भनिन्, ‘थकाइ लागेर हो कि ? के भएर हो ? सायद शरीरले मागेको पो हो कि।’
घरमा उनी एक्ली छन्। श्रीमान् बितेको एक दशक नाघिसक्यो। तीनैजना छोरीहरू डाक्टर छन्। जो विदेशमा व्यस्त छन्। छोरीहरूले बोलाउँछन्। तर, भरसक जाँदिनन्। किनकि उनी नेपालका छोरीहरूको उपचारमा रमाइरहेकी छन्।
बिहान साढे ५ बजे मोबाइल अलार्म बज्छ। त्यो हातेफोनको घण्टीले उनको निद्रा भंग गर्छ। आँखा मिच्दै बेडबाट झर्छिन्। जीउ तन्याकतुनुक पार्छिन्। उनी मुस्कुराउँदै भन्छिन्, ‘शरीरलाई फिट राख्नु पर्यो नि।’
सखारै ध्यान गर्छिन्। पाठपूजा भ्याउँछिन्। यसलाई उनी धर्मकर्म मान्छिन्। अनुशासनमा रहन पूजापाठ गरेको बताउँछिन्। त्यसपछि अदुवा हालेको मिल्क टी बनाउँछिन्। समयलाई निकै महŒव दिने उनी चिया पाकुञ्जेल यताउता टहल्छिन्। ‘उता चिया उम्लिने बेलासम्म किचनमै मर्निङ वाक गरिसक्छु’, उनले फूर्तिली हुनुका रहस्य खोल्दै भनिन्, ‘तपाईं पत्याउनु हुन्छ ? यो उमेरमा म आफैं खाना बनाउँछु।’
२००८ सालमा उनी पद्मकन्या विद्याश्रममा ५ कक्षामा भर्ना भइन्। मेधावी सरस्वती कक्षामा उनी जहिल्यै पहिलो हुन्थिन्। २०१३ सालमा एसएलसी पनि प्रथम श्रेणीमै उत्तीर्ण भइन्। सर्टिफिकेट हातमा थियो। तर, के पढेपछि के भइन्छ ? यो कुरै थाहा थिएन। बुवाको निधन भइसकेको थियो। एकल आमाले हुर्काएकी छोरीको प्रगति देखेर शिक्षक गोपाल आचार्यले विज्ञान विषय लिएर उच्च शिक्षा पढ्न प्रेरित गरे। उनी त्रिचन्द्र कलेजमा भर्ना भइन्। पढाउने सबै भारतीय शिक्षक थिए।
आईएस्सी गरेपछि शिक्षा मन्त्रालयबाट कोलम्बो प्लानअन्तर्गत भारतको दरभंगा भेडिकल कलेजमा छात्रवृत्ति पाइन्। एमबीबीएस गरिन्। पाँच वर्ष सरकारी अस्पतालमै काम गर्नुपर्ने नियम पालना गरिन्। २०२८ सालमा शिक्षा मन्त्रालयको छात्रवृत्ति पाइन्। बेलायती विश्वविद्यालयबाट प्रसूति तथा स्त्री रोग विषयमा मेम्बर अफ रोयल कलेज अफ अब्स्ट्रेसियन एन्ड गाइनोकोलोजी (एमआरसीओजी) गरिन्। यो पल उनलाई सुखद लाग्छ।
परिवार र व्यक्तिगत सुखसयलभन्दा माथि उठेर सेवामा समर्पित छिन्, ८५ वर्षीया प्रा. डा. सरस्वती पाध्ये। उनी पेसालाई पूजा गर्छिन्। बिरामी जाँच्छिन्। शल्यक्रिया गर्छिन्।
२०२७ सालमा आमाको निधन हुँदाको बेला उनलाई सबैभन्दा दुःखद् महसुस हुन्छ। २०५८ सालमा सरकारी सेवाबाट रिटायर्ड भएकी उनी टायर्ड भने भएकी छैनन्। २०२१ सालमा सरकारी सेवामा प्रवेश गरेकी उनी वीर अस्पताल, भेरी अस्पताल नेपालगन्ज, वीरगन्जलगायत उपत्यका बाहिर बसेर सेवा गरिन्। झन्डै ७ वर्ष जति प्रसूति गृहमा निर्देशकका रूपमा बिताइन्। करिब २० वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी) मा सेवा गरिन्।
कोभिड—१९ को सुरुआत भएपछि केएमसीले कदरपत्र दिँदै बिदा गर्यो। त्यसपछि उनी डिल्लीबजारस्थित क्लिनिकमा व्यस्त भइन्। अहिले पनि बिहान र साँझपख बिरामी जाँचिरहेको अवस्थामा भेटिन्छिन्। कतिपय केसहरूलाई रेफर गर्छिन्। ‘साथीहरू राम्रा छन्। रेफर गरेको बिरामीलाई राम्रोसँग हेर्दिन्छन्’, उनी भन्छिन्, ‘राम्रा साथीहरू पाउनु पनि भाग्यमानी हुनु नै हो।’
२०२१ सालमा उनी सरकारी सेवामा प्रवेश गरिन्। त्यसक्रममा सरकारले आफूमाथि गरेको लगानी सम्झँदा भावविभोर हुन्छिन्। ‘बेलायतमा त पढ्न पठाइहाल्यो’, उनले बेलिविस्तार लगाइन्, ‘अमेरिकामा नै दुई÷तीन चोटी पठायो। जेनेभा पनि पुगियो। सोर्सफोर्स भएको मान्छे त होइन। तै पनि सरकारले पत्यायो। एफआरसीएस गरेर आएँ। सरकारप्रति आभारी नै छु।’ सरकारले लगानी गरेकै कारण प्रा.डा. हुन पाएको बताउने उनी सक्दासम्म बिरामीको सेवा गर्ने प्रतिबद्धतामा दृढ छन्। भन्छिन्, ‘आफ्नो शरीरले साथ दिएसम्म अरूकै सेवा गर्ने हो। सेवामै छ आनन्द।’
पाध्येका शिष्यहरू नीतिनिर्माण तहमा पुगिसकेका छन्। जसमध्ये एक हुन्, प्रतिनिधिसभा सदस्य (सांसद) एवं प्रा.डा. चन्दा कार्की। ‘प्रसूति तथा स्त्री रोग विशेषज्ञ मात्र होइन, स्वदेशबाट एमबीबीएस उत्तीर्ण गरेका अधिकांश चिकित्सकको गुरुआमा हुनुहुन्छ’, कार्की भन्छिन्, ‘ऊर्जाशील समय इमान्दारी र लगनशीलताका साथ स्वदेशमै खर्चिनु भएको छ। पाँच दशकभन्दा बढी स्वास्थ्य क्षेत्रमा खर्चनु भएको छ। उहाँ व्यक्तिमात्र होइन। एउटा संस्था हो भन्ने ठान्छु।’
पाध्येले एमबीबीएस, डी(अब्स) आरसीओजी, एमआरसीओजी, एफआरसीओजी (लन्डन), एफआईसीएस, एफएनएएमएससम्मको अध्ययन गरेकी छन्। एसिया, बेलायत, अमेरिकालगायतका मुलुकको भ्रमण गरेकी उनी नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन एन्ड गाइनोकोलोजिस्ट (नेसोग)को आजीवन सदस्य हुन्। उनले प्रबल गोरखा दक्षिण बाहु, रत्न समाज सेवा पदक, प्रख्यात त्रिशक्ति पट्ट, सुप्रबल गोरखा दक्षिण बाहु, मेनोपज अवार्ड (लन्डन), धर्म पहारी हेल्थ सर्भिस अवार्ड, वीरेन्द्र—ऐश्वर्य पदक पाएकी छन्।
बिरामी जाँच्ने क्रममा कतिपय डाक्टर झर्कोफर्को गर्र्छन्। बिरामीसँग राम्ररी सोधपुछ गर्ने वा बिरामीको दुःख महसुस गर्न सक्दैनन्। यस खालको डाक्टरी प्रवृत्तिप्रति उनी चिन्तित छन्। अनावश्यक औषधि पे्रस्क्राइब गर्ने वा परीक्षण गर्न लगाउने प्रवृत्तिको उनी विरोधी हुन्। विपन्न परिवारमा रोगको बोझले कतिसम्म मर्माहत गर्छ, उनले नजिकबाट नियालेकी छन्। ‘रोगले सताएपछि बिरामी शारीरिक, मानसिक र आर्थिक रूपमा कमजोर बनेको हुन्छ। पीडाले बिरामीलाई विह्वल पार्छ’, पाध्ये भन्छिन्, ‘शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ।’
नेपालीको औसत आयु ७२ वर्ष हो। औसत नेपालीभन्दा बढी बाँचेकी छिन्, पाध्ये। दाँत बलिया छन्। दृष्टि र श्रवणशक्ति सबल छ। ‘चिन्ता गर्ने होइन, हरदम मुस्कुराउने हो। पृथ्वीमा जन्मेको लिन होइन, दिन हो’, पाध्येले स्वस्थ हुनुको राज खोलिन्, ‘सकारात्मक सोच राख्नुस्। सक्रिय जीवनशैली अपनाउनुस्। स्वस्थ खानपान गर्नुस्। यी असल बानी व्यहोराले दीर्घायु भइन्छ।’