‘देश बनाउँछु भन्नेहरूले सुन बोक्न थालेपछि मुलुक कसरी बन्छ ?’
बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले देश बनाउँछु भनेर हिँडेका मुलुकका नेताहरूले आफ्ना छोराहरूलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन्। शनिबार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भण्डारीले देशका १२ जना नेताहरूकै कारण मुलुक आर्थिक रूपमा तहसनहस बनिरहेको उल्लेख गरे।
‘सत्तामा हुँदा जनताको काम गर्लान भनेको सन्तानलाई सुन तस्करी गर्न सिकाउँछन्’, भण्डारीले भने, ‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने ?’ ३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्न समेत सेचत गराए। ‘जसले घूस खाँदैन् उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ’, उनले भने, ‘नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ।’
अदूरदर्शी नेतृत्वका कारण अर्बौ रुपैयाँ ऋण लिएर बनाएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अलपत्र पर्नुले निजी क्षेत्रलाई निरुत्साहित बनाएको भण्डारीले सुनाए।
‘नचलाउने भए यतिका धेरै खर्च गरेर किन एयरपोर्ट बनाउनु ?’, भण्डारीले प्रश्न गर्दै भने, ‘एयरपोर्टका ठाउँमा सुनवलदेखि पोखरासम्म पाँच लेनको सडक बनाएको भए करोडौं भारतीय पर्यटकहरूलाई भिœयाउन सकिन्थ्यो। तर, कमिसनको लोभमा विकेका नेताहरूले जनतालाई घात गरे।’