गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारीको दाबी पेस
पोखरा : गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। उनले आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उक्त दाबीपत्र पेस गरेका हुन्।
उनले एमाले,माओवादी र नेकपा एसको समर्थन आफूलाई रहेको दाबी गरेका छन्। गण्डकीमा एमालेका २२, माओवादीका ८ (सभामुखसहित) र नेकपा एसका १ सांसद छन्। नेकपा एसका राजीव गुरुङ, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अधिकारीलाई आफूहरुको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पुगेका थिए।
यसअघि मुख्यमन्त्री कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा गरेका थिए। सोही दिन प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न २ वा २ भन्दा बढी दलको बहुमतसहित मुख्यमन्त्रीमा दाबीका लागि आह्वान गरेका थिए।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ (सभामुखसहित), राप्रपका २ र नेकपा एसका १ सांसद छन्। माओवादीले पाण्डे सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। तर त्यो सम्भावना नदेखेर मुख्यमन्त्री पाण्डेले राजीनामा गरेका थिए।