गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिए सपथ, चुमान र मनाङे बने मन्त्री
पोखरा : गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री पदको सपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्रीमा अधिकारीलाई सपथ ग्रहण गराएसँगै नेकपा एसका राजीव गुरुङ(दीपक मनाङे) र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि विनाविभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
अधिकारीले एमाले,माओवादी र नेकपा एसको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए। गण्डकीमा एमालेका २२,माओवादीका ८ र नेकपा एसका १ सांसद छन्। नेकपा एसका गुरुङ, माओवादी संसदीय दलका नेता चुमान अधिकारीलाई आफूहरुको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पुगेका थिए।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ (सभामुखसहित), राप्रपाका २ र नेकपा एसका १ सांसद छन्। माओवादीले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। तर त्यो सम्भावना नदेखेर मुख्यमन्त्री पाण्डेले राजीनामा गरेका थिए।