सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भयो : सभामुख घिमिरे
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन्। आइतबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख घिमिरेले तोकिएको समयमा निर्माण नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले सरकारको प्राथमिकतामा परेको आयोजना छिटो बनोस् भन्ने चाहना रहेको बताए। उनले निर्माणाधीन सङ्घीय संसद् भवन कहिले बन्छ भन्दा पनि आशा गर्ने ठाँउमात्रै रहेको जिकिर गरे। सभामुख घिमिरले संसद भवन निर्माणमा देखिएका समस्या र अप्ठेराहरुलाई समाधान गर्न आफूले पहल गर्ने बताए।
एक वर्षपछि अनुगमनमा आउँदा यसअघि जुन गतिमा निर्माण हुनुपर्ने हो त्यसको ५० प्रतिशतमात्रै काम भएको देखिएको उनको भनाई छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।