मुठभेडको स्थितिमा संसद, सभामुखले बोलाएको चार दलको बैठक निष्कर्षविहीन
काठमाडौं : सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलसँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताएपछि बैठक निष्कर्षविहीन बनेको छ।
सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। उक्त माग पूरा नभएपछि गृहमन्त्री लामिछानेलाई रोस्टममा जानसमेत रोक लगाउने कांग्रेसको तयारी छ।
संसदमा भोलि (मंगलबार) गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेस गर्ने कार्यसूची छ। त्यसैले बैठकमा कुनै अवरोध नहोस् भनेर सभामुख घिमिरेले संसदमा रहेका प्रमुख चार दलसँग छलफल गरेका हुन्।
कांग्रेसका प्रमुख सचेत रमेश लेखकले लाखौं नेपाली नागरिकको बचत अपचलन भएको र त्यसमा बहालवाला मन्त्रीहरूको संलग्नता रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको प्रस्ट्याए। उनले जबर्जस्ती संसद सञ्चालन गरिए अवरुद्ध पार्ने संकेतसमते गरे। 'हालसम्म संसद चल्न दिएका छौं। गैरजिम्मेवार ढंगले प्रस्तुत भएका छैनौं। त्यति गर्दासमेत सरकार गम्भीर हुन सकेको छैन। अब संसदमा कुनै बैठक र काम कारबाही अवरुद्ध भयो भने त्यसको जिम्मेवार सरकार नै हुन्छ,' उनले भने।
यता सत्ता साझेदार दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति नबन्ने बताए। उनले हल्का विषयमा पनि संसदीय छानबिन समिति बनाउँदै जाने हो भने गलत नजिर स्थापित हुने बताए। उनले लामो संसदीय इतिहास बोकेको नेपाली कांग्रेसलाई राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गरे।
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लामिछानेले भोलि विधेयक पेस गर्ने कार्यतालिका रहेको र त्यहीबेला आफूमाथि उठेको प्रश्नको जवाफ दिने बताए।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसले सभापति लामिछानेमाथि मिथ्या आरोप लगाएको बताएको छ। आफूहरू लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भएकाले कांग्रेसको आरोप नसहने रास्वपाको भनाइ छ।
'भावनामा जोडेर कसैलाई अपराधी बनाउन मिल्दैन। भावनामा जोडेर कसैलाई कारबाही गर्न सकिन्छ?,' रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रश्न गरे, 'हिजो उहाँहरू नै सरकारमा हुनुहुन्थ्यो। त्यतिबेला किन समिति बनाएन भन्ने प्रश्न खडा हुँदैन?'
बैठकमा प्रधानमन्त्री पुष्कमलम दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन्। एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्। एमालेबाट उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए। त्यस्तै बैठकमा चार दलका प्रमुखत सचेतक र सचेतकहरूको पनि उपस्थिति थियो।